वर्षाले देशभरको जनजीवन प्रभावित : यस्तो छ ३ दिनको मौसम प्रक्षेपण
काठमाडौं : मनसुनी वायुका तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण हाल देशभरको मौसम प्रभावित भएको छ। बिहानैदेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ भने कतिपय स्थानमा जनजीवन प्रभावित भएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ।
बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरी उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा समेत परेको महाशाखाले जनाएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
यस्तै आज रातिसमेत कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी शुक्रबार देशभर अधिकांश बदली रहने महाशाखाको प्रक्षेपण छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। शुक्रबार राति पनि देशका विभिन्न क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहनेछ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहनेछ। ती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातार वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।
.gif)

.png)


