अफगानिस्तानमाथि नेपालको शानदार जित, १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा


२०८३ असोज ९ शुक्रबार १४:१४ बजे
तस्बिरः क्रिकेट एसोशियसन अफ नेपाल (क्यान)

काठमाडौं : बलरको उत्कृष्ट प्रदर्शनपछि नेपालले एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे।

यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपाली बलरले सुरुदेखि नै दबाबमा राखेका थिए।

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रनमा रोकिएको अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए। नेपाली बलरको प्रभावकारी प्रदर्शनकै कारण अफगानिस्तान ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।

१०३ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती विकेट गुमाए पनि सन्दीप र रोहितको महत्त्वपूर्ण योगदानमा लक्ष्य सहजै पूरा गर्‍यो।

समूह ‘ए’मा रहेको नेपालको यो पहिलो खेल हो। अफगानिस्तानको भने यो दोस्रो खेल हो। उसले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।

पुरुष क्रिकेटमा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सिधै क्वार्टरफाइनलमा पुगेका छन्। समूह ‘बी’मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७