एमाले बैठकमा विष्णु रिजालको प्रश्न : नेपाली सेनालाई हेर्ने पार्टीको दृष्टिकोण के हो ?
काठमाडौं : नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको आधिकारिक दृष्टिकोण स्पष्ट गर्न माग गरेका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटीको तेस्रै बैठकमा धारणा राख्दै रिजालले २०८२ भदौ २३–२४ को घटनामा नेपाली सेनाको भूमिकाबारे कैयौँ प्रश्न अझै अनुत्तरित रहेको उल्लेख गर्दै पार्टीले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
नेता रिजालले अध्यक्ष केपी शर्मा ओलीले आफू पाँच मिनेट ढिलो भएको भए बालुवाटारमै मारिन सक्ने बताएको प्रसंग तथा राधिका शाक्यले सार्वजनिक गरेको धारणालाई समेत उल्लेख गरेका छन्।
त्यससँगै उनले २०८२ भदौ २३–२४ का घटनामा सेनाको भूमिकाबारे पार्टीभित्रै स्पष्ट बहस आवश्यक रहेको बताएका छन्। उनले सेनाले एमाले नेतृत्वको सुरक्षा र सहजीकरण गरेको अवस्थामा संसद्मा भने नेपाली सेनालाई एमालेकै मुख्य निशानाजस्तो गरी प्रस्तुत गर्ने क्रम देखिएको बताएका छन्।
यस्तो प्रस्तुतिले ‘एमालेकै दृष्टिकोण त्यही हो कि’ भन्ने भ्रम उत्पन्न भएको र राज्यको स्थायी संरचनासँग पार्टीको टकराव बढेको उनको भनाइ छ।
नेता रिजालले भने, ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ। नेकपा एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले नेकपा एमालेकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ। यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ।’
२०८२ भदौ २३–२४ को घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले पनि नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएको छ।
आयोगले सुरक्षा अवस्थाको विश्लेषण गर्दै सेनाको परिचालन, सरकारको निर्णय र घटनाक्रमबीच देखिएको अन्तरबारे प्रश्न उठाएको तथा सेनातर्फ पनि कमजोरी देखिएको उल्लेख गरेको छ।
यसै पृष्ठभूमिमा रिजालले पार्टीभित्र सेनाप्रतिको धारणा, २०८२ भदौ २३–२४ को घटनाको समीक्षा र संसद्मा पार्टीका नेताहरूबाट व्यक्त भइरहेका धारणाबीच स्पष्टता आवश्यक रहेको विषय बैठकमा उठाएका हुन्।
.gif)

.png)
