बागमतीदेखि बल्खु र मनोहरासम्म जलसतह बढ्यो, खोला किनारमा आवतजावत बन्द


२०८३ असोज ९ शुक्रबार १३:५४ बजे

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको बहाव बढेपछि बाढी तथा डुबानको जोखिम बढेको छ। बागमती, बल्खु र मनोहरा खोलामा जलसतह बढेसँगै जोखिमयुक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

काठमाडौंको टेकुस्थित वंशीघाटमा बागमती खोलाको पानीको सतह बढेको छ। बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेको हो।

यस्तै, ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास पनि निरन्तर वर्षा भइरहेको छ। खोलामा पानीको बहाव बढेर मनोहरा पुललाई छोएपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक लगाएका छन्। 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी तथा उद्धार टोलीसमेत परिचालन गरिएको छ। अविरल वर्षाका कारण बल्खु खोलाको बहाव बढ्दा एक घरसमेत जोखिममा परेको छ। 

प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा उक्त घरमा डेरा गरी बस्ने ६ परिवारलाई अन्यत्र सारिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। उनीहरूलाई महानगरपालिकाले अन्यत्र सार्ने व्यवस्था गरेको थापाले बताए।

खोला किनारका अन्य जोखिमयुक्त क्षेत्रमा पनि जलसतह बढेकाले यातायात तथा पैदल आवतजावत रोकिएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको एसपी थापाले बताए।

यसैबीच, सरकारले असोज ११ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न, डुबानको जोखिम भएका स्थानमा नबस्न तथा आवश्यक पूर्वतयारी गर्न सरकारले आग्रह गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी भइरहेको जनाउँदै सरकारले त्रासमा नबस्न तर सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७