पहिरोले बीपी राजमार्ग अवरुद्ध, राति १२ घण्टा सवारी चलाउन रोक


२०८३ असोज ९ शुक्रबार ०८:४१ बजे
फाइल फोटो

काभ्रेपलाञ्चोक : अविरल वर्षासँगै पहिरो खस्दा बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ को गिम्दीमा पहिरो खसेपछि सडकमा यातायात अवरुद्ध भएको हो।

वर्षा र बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यसअघि नै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो।

निर्णयअनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

जल तथा मौसम विभागको प्रक्षेपण तथा बाढीपहिरोको अवस्था मूल्याङ्कन गरेर आवश्यक परे दिउँसोसमेत सवारी आवागमन बन्द गर्न सकिने प्रशासनले जनाएको छ।

आवागमन व्यवस्थापनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटसँग समेत समन्वय गर्ने निर्णय गरिएको छ।

प्रशासनले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउन तथा जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्न स्थानीय तह र सञ्चारमाध्यमसँग समन्वय गर्ने जनाएको छ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७