१६ हिमाली जिल्लामा रेडअलर्ट, भारी हिमपातको जोखिमले बढायो चुनौती
काठमाडौं : मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि रेडअलर्ट जारी गरेको छ। विशेषगरी विभागले उच्च पहाडी र हिमाली जिल्लामा रेडअलर्ट जारी गरेको हो।
देशमा मनसुनको प्रभावसँगै पश्चिमी वायु र बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव एकसाथ देखिने भएपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम बढेको महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै पूर्वी ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका १६ उच्च पहाडी तथा हिमाली जिल्लामा रेडअलर्ट जारी गरेको हो।
आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा ठूलोदेखि अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाका जनाएको छ। वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले ती क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीमा रहेको मौसमविद् विनु महर्जनले जनाइन्। उक्त प्रणालीको प्रभावसँगै पश्चिमी वायु पनि सक्रिय हुने भएकाले वर्षा र हिमपात दुवैको सम्भावना देखिएको हो।
महर्जनले भनिन्, ‘वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने अवस्था देखिएको छ।’ अहिले हिमाली क्षेत्रमा पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिको सिजन रहेकाले मौसममा आउने परिवर्तनले यात्रु तथा पर्यटकलाई समेत प्रभावित पार्न सक्ने महाशाखाको आकलन छ।
विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित हिमपातबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
आगामी केही दिनमा प्रणाली थप सक्रिय भएमा वर्षा र हिमपातको मात्रा अझ बढ्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्नसमेत महाशाखाले अनुरोध गरेको छ।
हेर्नूहोस् महाशाको सूचनाः

.gif)

.png)
