त्रिपुरेश्वर बस आगजनीबारे छानबिन गर्न समिति गठन


२०८३ असोज ६ मंगलबार ०७:२८ बजे

काठमाडौं : त्रिपुरेश्वरमा बसमा भएको आगजनीको घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित समितिलाई घटनासम्बन्धी तथ्य, प्रमाण तथा सूचना संकलन र विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।

बा५ख ४२७४ नम्बरको रिद्धिसिद्धी यातायातको बसमा आगजनी भएको थियो। बस चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको विषयमा कारबाही गर्न खोज्दा विवाद भएपछि बसमा आगजनी भएको प्रारम्भिक विवरण छ। समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई तथा रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य रहेका छन्।

समितिले घटनास्थल प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपुछ गर्नेछ। साथै घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन तथा विश्लेषण गर्ने र घटनासँग सम्बन्धित अन्य प्रमाण संकलन गर्ने कार्यादेश दिइएको छ। बस पार्किङ बेमा पार्किङ गरिएको समयदेखि आगजनी भएको समयसम्मको टाइमलाइन तयार गरी घटनाक्रमको तथ्यगत विश्लेषण गर्न पनि समितिलाई भनिएको छ।

घटनामा गम्भीर घाइते भएका व्यक्तिको मोबाइल तथा अन्य माध्यमबाट प्राप्त हुनसक्ने भिडियो, म्यासेज र सम्पर्क विवरणसमेत घटनासँग सम्बन्धित भएमा अध्ययन गर्ने समितिको कार्यादेशमा उल्लेख छ। 

यसैगरी, घटनामा कसको के भूमिका वा कारण रहेको थियो भन्ने विषयमा उपलब्ध तथ्य तथा प्रमाणका आधारमा निष्कर्षमा पुगेर प्रतिवेदन पेस गर्न समितिलाई जिम्मेवारी दिइएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वसावधानी तथा नियन्त्रणका उपायसमेत समितिले सुझाउनुपर्नेछ। समितिले आफ्नो छानबिन कार्यविधि र तालिका आफैं तय गर्नेछ। समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७