परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
काठमाडौं : संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
भ्रमणका क्रममा उनले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री वालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार (असोज ६ गते) अमेरिका प्रस्थान गर्नेछन्। उनले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
यूएन महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा कुल १४ जना रहने जनाइएको छ। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
महासभामा सहभागिता तथा अन्य निर्धारित कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्किनेछन्। परराष्ट्रमन्त्री खनाल भने त्यसको तीन दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको छ।
.gif)

.png)

