बझाङमा बिरामी कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
काठमाडौं : बझाङमा बिरामी कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा सोही नगरपालिकाकी ४२ वर्षीया विमलादेवी रोकाया पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछिल्लो भागमा घाउ भएको थियो। घाउबाट दुर्गन्धसमेत आउन थालेपछि रोकायाले कुकुरलाई नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रोकायाले प्रहरीसमक्ष दिएको बयानअनुसार बिरामी कुकुरले घरनजिकको बाटोमा हिँड्ने मानिसलाई टोक्न थालेपछि आफूले नदीमा फालेकी हुन्।
प्रहरी प्रदेश कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार रोकायाले यस्तो कार्य गर्दा कानुनी कारबाही हुन्छ भन्ने आफूलाई जानकारी नभएको र बिरामी कुकुरको उपचार सम्भव नभएपछि नदीमा फालेको बयान दिएकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
.gif)

.png)

