‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिन श्रीलंकाका १५० पर्यटन व्यवसायी नेपालमा


२०८३ असोज २ शुक्रबार ०९:०७ बजे

काठमाडौं : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले श्रीलंकाका करिब १५० जना ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन्। रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका Travel Agents Association of Sri Lanka (TAASL) र IATA Agents Association of Sri Lanka (IAASL) को वार्षिक साधारणसभा काठमाडौंमा आयोजना भएपछि उनीहरू नेपाल आएका हुन्। 

काठमाडौंस्थित दुसित प्रिन्सेस होटलमा सेप्टेम्बर १७ देखि २० सम्म आयोजना भइरहेको कार्यक्रममा TAASL को ५१औँ तथा IAASL को ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको आयोजकले जनाएको छ। यी संस्थाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका छन्। सन् २०२५ मा TAASL को ५०औँ तथा IAASL को ३७औँ साधारणसभा सिंगापुर–मलेसिया क्षेत्रमा ‘Genting Dream/Resorts World Genting Cruise’ मा आयोजना गरिएको थियो। त्यस कार्यक्रममा पनि करिब १५० जना सहभागी थिए।

Beijing, Tokyo, Istanbul, Bangkok, Jakarta, Baku र Melbourne लगायतका गन्तव्यमा साधारणसभा आयोजना गरिसकेका यी संस्थाले यसपटक काठमाडौंलाई गन्तव्य बनाएका हुन्। नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीका बीच अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रममार्फत ‘Nepal is Safe, Nepal is Calling’ भन्ने सन्देशलाई प्राथमिकता दिइएको छ।

नेपाल सुरक्षित रहेको, पर्यटकलाई स्वागत गर्न तयार रहेको र निर्धक्क भएर भ्रमण गर्न सकिने सन्देश श्रीलंकाका पर्यटन व्यवसायीमार्फत त्यहाँको बजारसम्म पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

रुप्से होलिडेजका अनुसार श्रीलंकाका करिब १५० पर्यटन व्यवसायीलाई नेपाल ल्याएर यहाँका पर्यटन उत्पादन तथा गन्तव्यको प्रत्यक्ष अनुभव गराउनु कार्यक्रमको महत्वपूर्ण पक्ष हो। सहभागी व्यवसायीले नेपालमा प्राप्त अनुभव आफ्ना ग्राहक तथा बजारसम्म पुर्‍याउन सक्ने भएकाले यसलाई पर्यटन प्रवर्द्धनको अवसरका रूपमा हेरिएको छ।

साधारणसभापछि आयोजित गाला डिनरमा नेपाल र श्रीलंकाका पर्यटन तथा उड्डयन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, SriLankan Airlines का कमर्सियल डाइरेक्टर, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) का अध्यक्ष भरत जंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, SriLankan Airlines का GSA सञ्चालक जय देवानलगायत नेपाल तथा श्रीलंकाका पर्यटन व्यवसायी सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक तथा यथार्थ सूचना प्रवाह गर्दै पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुलीले नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय बजारमा विश्वास निर्माणका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनका अनुसार करिब १५० जना श्रीलंकाली ट्राभल एजेन्टलाई नेपाल ल्याउनु साधारणसभा आयोजनामा मात्र सीमित नभई उनीहरूलाई नेपालको पर्यटन प्रत्यक्ष अनुभव गराउने अवसर पनि हो। पराजुली NATTA का सचिवसमेत हुन्।

रुप्से होलिडेजले कार्यक्रममार्फत नेपाल–श्रीलंका व्यवसायीबीच B2B पर्यटन नेटवर्किङ, नेपाली पर्यटन उत्पादनको प्रवर्द्धन तथा श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या बढाउन आधार तयार हुने अपेक्षा गरेको जनाएको छ। श्रीलंकाका पर्यटन व्यवसायीलाई नेपालमै ल्याएर यहाँका गन्तव्यको प्रत्यक्ष अनुभव गराउनु र उनीहरूमार्फत नेपालको पर्यटनबारे बजारमा जानकारी तथा अनुभव प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७