एमाले महाधिवेशनको सुरक्षार्थ १५०० प्रहरी र तालिम प्राप्त कुकुर परिचालन
काठमाडौँ : भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु भएको नेकपा एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
जेनजी आन्दोलनपछिको फरक परिस्थितिमा आयोजना भइरहेको महाधिवेशनमा कुनै अप्रिय गतिविधि नहोस् भनेर विशेष सुरक्षा योजना लागू गरिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले बताएका छन्।
शनिबार उपत्यकामा एमाले महाधिवेशनसँगै टुँडिखेलमा साकेला र कीर्तिपुरमा नेपाल प्रिमियर लिगको फाइनल खेल गरी तीन ठूला कार्यक्रम रहेकाले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । महाधिवेशनस्थल प्रवेशमा कडाइ गरिएको छ भने मेटल डिटेक्टर प्रयोग गरिएको छ।
विस्फोटक पदार्थ खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। एआईजी कार्कीका अनुसार ट्राफिक व्यवस्थापनका लागि जुलुसमा एउटा सर्भिस लेन मात्र प्रयोग गर्न दिइएको छ। भक्तपुरका पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी पाँच स्थानमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशन सुरक्षामा सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालित छन्। एमालेले सुरक्षाका लागि १० हजार स्वयंसेवक परिचालन गरेको जनाएको छ।
.gif)

.png)

