संसदमा कुकुरकै मासु बेचिरहेका छन् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय व्यवस्था ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली’ भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
उनले जनवादी क्रान्तिको क्रममा माक्र्सवाद प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भन्ने भनाइ निकै प्रचार गरिएको स्मरण गराए । हाल समितिको प्रतिवेदनमाथि भइरहेको छेडखानी त्यस्तै प्रकृतिको भएको उल्लेख गरे । निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी विषय उठाउँदै प्रचण्डले देखाउँदा खसीको टाउको देखाइए पनि बेच्दा कुकुरको मासु बेचिएझैँ व्यवहार देखिएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले तपाई हामी हेर्यौँ भने संविधानमा निर्दिष्ट गरिएका मूलभूत मान्यतालाई इमानदारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने, अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशील र लोकप्रिय कुराहरू उल्ट्याउने र त्यसलाई प्रतिक्रियावादी अनुकूल बनाउने कसरत वा लडाइँ चलिरहेको छ । हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्र्सवाद प्रचार गर्दा भन्थ्यौँ-संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको थियो । अहिले भइरहेको समितिका प्रतिवेदनमाथिका छेडखानीहरू त्यस्तै हुन् । देखाउँदा खसीको टाउको देखाइएको छ-लोकतन्त्र, तर बेच्दा कुकुरको मासु बेचिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ ।’
अध्यक्ष प्रचण्डले आफू सरकारमा रहँदा हरेक पटक समाजवादतर्फ लैजाने बल गरेका दाबी गरे । उनले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भइसकेको उल्लेख गर्दै नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको बताए । समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै अगुवाइ गर्नुपर्ने धारणा पनि उनले राखेका छन् ।