४५ हजार घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्ष र उनका छोरा विरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको काम दिलाइदिने भन्दै उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उक्त रकम उपाध्यक्ष राईले आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत हाल्न लगाएको अनुसन्धानबाट पुष्टि भएको छ। पदीय जिम्मेवारीको दुरुपयोग गर्दै सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले सेवाग्राहीबाट ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्तियारले गरेको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ। यस्तै, सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिई प्रयोगमा ल्याएको पाइएको अख्तियारले जनाएको छ।
सुनिलको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
.gif)

.png)

