मलेसियाका प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत, आर्थिक लेनदेनको आरोप
काठमाडौं : मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
उनीमाथि आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र विभिन्न स्थानमा जग्गासम्बन्धी अनियमितताको आरोप उठेपछि समितिले उनको नाम अनुमोदन नगरेको हो।
संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलमाथि प्रश्न उठाएका थिए। त्यसपछि उनको सुनुवाइ प्रक्रिया रोकिएको थियो। उनीमाथि उठेका प्रश्न र उजुरीमा उल्लेखित विषयले उनको राजदूत नियुक्तिबारे विवाद सिर्जना गरेको थियो।
खरेलमाथि झापाका स्थानीयलाई अनुदान उपलब्ध गराइदिने भन्दै रकम लिएको र राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोप छ। त्यस्तै, म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि काम गरिदिने आश्वासनमा रकम लिएको र व्यवसायीसँग सम्बन्धित गाडी प्रयोग गरेको विषय पनि उजुरीमा उल्लेख छ।
उजुरीमा म्यानपावर व्यवसायी विजय मिश्रको एड्भेन्चर ओभरसिजसँग करिब दुई करोड रुपैयाँको कथित लेनदेन भएको र बा २० च ५३९ नम्बरको टोयोटा आरएभी–४ गाडी प्रयोग गरेको विषयसमेत उठाइएको छ।
त्यसैगरी, योग महासंघ नेपालमा महासचिवका रूपमा काम गर्दा आर्थिक दायित्व र बक्यौतासम्बन्धी अनियमितता भएको आरोप पनि खरेलमाथि लगाइएको छ।
पोखरामा सार्वजनिक वन क्षेत्रको जग्गा मिलाइदिने भन्दै ठूलो रकम लिएको तथा जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपसमेत उजुरीमा समेटिएको छ।
उजुरीकर्ताले खरेलको पछिल्लो तीन महिनाको फोन कल विवरण र सन्देशसमेत अनुसन्धान गर्न माग गरेका थिए। तर, खरेलले सुनुवाइका क्रममा सांसदले उठाएका आरोप अस्वीकार गरेका थिए।
आर्थिक कारोबार र म्यानपावर व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नले राजदूतको भूमिकामा सम्भावित स्वार्थको द्वन्द्व हुन सक्ने विषयलाई समेत चर्चामा ल्याएको थियो।
यिनै विषयमा उठेका प्रश्न र उजुरीका बीच समितिले खरेलको नाम अस्वीकृत गरेको हो।
.gif)

.png)



