गिरीबहादुर सुनारमाथिका यी आरोप जसका कारण उनी समितिबाट अस्वीकृत भए

सुनार र सांसदबीच बैठकमा भएको थियो यस्तो सवालजवाफ


२०८३ असोज २८ बुधबार १९:३२ बजे

काठमाडौं : साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। बुधबार बसेको समितिको बैठकले नैतिक आचरण र जर्मनीबाट रिपोर्ट गरिएको विषयलगायतका प्रश्न उठेपछि सुनारको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो।

उनीविरुद्ध महिला हिंसा, पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई धम्की दिएको, अन्तरङ्ग तस्बिर पठाएको, अनुचित आर्थिक लेनदेन गरेको र जर्मनीबाट निष्कासन भएको भनिएको विषयमा उजुरी परेको थियो।

उनीमाथि मुख्यतः महिला हिंसा गरेको, बिबाहेत्तर सम्बन्ध बनाएको, जर्मनीबाट डिपोर्ट भएको लगायतका विषयमा सांसद्हरूले प्रश्नैप्रश्न तेर्स्याएका थिए। सुनुवाइका क्रममा सांसदहरूले यी विषयमा प्रश्न गर्दै राजदूत नियुक्तिका लागि आवश्यक नैतिक मापदण्डबारे चासो राखेका थिए। केही सांसदले उनलाई नाम फिर्ता लिनसमेत सुझाव दिएका छन्।

वर्षमान पुनः

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सुनारविरुद्ध परेको उजुरीको गम्भीरता उल्लेख गर्दै राजदूतको प्रस्तावबाट पछि हट्न सुझाव दिएका थिए।

पुनले उजुरीकर्ताको भनाइ सुनेको र त्यसमा महिला तथा उनको परिवारमाथि यातना, धम्की र अन्तरङ्ग सामग्री पठाइएको भनिएको विषय रहेको उल्लेख गरे। उजुरीसँग सम्बन्धित अडियो तथा भिडियो सामग्रीसमेत रहेको बताउँदै उनले आवश्यक परे समितिमा सुनाउन सकिने जनाएका थिए।

राजदूतजस्तो संवेदनशील पदमा नियुक्त हुने व्यक्तिमा उच्च नैतिक चरित्र हुन आवश्यक रहेको भन्दै नेता पुनले सुनारमाथि उठेका प्रश्नको अवस्थामा उनको नाम कायम राख्नु उपयुक्त नहुने आशय व्यक्त गर्दै पुनले नाम फिर्ता लिन आग्रह गरेका थिए।

पद्मा अर्याल:

यसैगरी नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुनारमाथि महिला हिंसा, अर्काको परिवारमा हस्तक्षेप गरेको भनिएको विषय र अनुचित आर्थिक कारोबारसम्बन्धी उजुरी परेको उल्लेख गर्दै राजदूत नियुक्तिको नैतिक मापदण्डबारे प्रश्न उठाएकी थिइन्।

नेता अर्यालले राजदूत नियुक्तिसम्बन्धी व्यवस्थाले उच्च नैतिक चरित्र भएको व्यक्तिलाई प्राथमिकता दिने उल्लेख गर्दै सुनारमाथि उठेका आरोपको अवस्थामा उनलाई नेपालको प्रतिनिधिका रूपमा साउदी पठाउन सकिने वा नसकिने प्रश्न गरिन्।

उनको चासो आरोपको सत्यता जाँच्नुपर्ने आवश्यकतासँगै कूटनीतिक पदको मर्यादा र विश्वसनीयतामा पनि केन्द्रित थियो। आरोपको छानबिन नगरी नियुक्ति प्रक्रिया अघि बढाउनु उचित नहुने उनको भनाइ थियो।

प्रेम दंगालः

यस्तै नेकपा एमालेका सांसद प्रेम दंगालले सुनार जर्मनीमा राष्ट्रिय दलित आयोगको कार्यक्रममा अनुवादकका रूपमा जाँदा भिसा अवधि नाघेर बसेको र पछि निष्कासन भएको भनिएको विषय उठाएका थिए।

उनले महिला हिंसासम्बन्धी उजुरीमा उल्लेखित गम्भीर आरोप र जर्मनीबाट निष्कासन भएको भनिएको विषयमा स्पष्टता आवश्यक रहेको बताए। सुनारमाथि उठेका प्रश्नहरूको जवाफ र उपलब्ध प्रमाणको परीक्षण नगरी राजदूतमा सिफारिस गर्न उपयुक्त नहुने उनको धारणा थियो।

दंगालले सुनारको नाम राजदूत नियुक्तिको सिफारिसमै अघि बढाउन सकिने अवस्था नदेखिएको आशय व्यक्त गरेका थिए।

गजला समिम मिकरानीः 

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गजला समीम मिकरानीले पुनले दिएको सुझाव सुनारले स्वीकार गर्ने कि नगर्ने भनेर सीधै प्रश्न गरेकी थिइन्।

‘वर्षमान पुनले जे सुझाव दिनुभएको छ, त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?’ भन्ने उनको प्रश्न थियो।

यसले सुनुवाइमा उठेका आरोपको जवाफसँगै सुनारले आफ्नो उम्मेदवारी कायम राख्ने वा फिर्ता लिने भन्ने विषयलाई पनि प्रत्यक्ष रूपमा छलफलमा ल्याएको थियो।

मधुकुमार चौलागाईंः 

यसैगरी रास्वपा सांसद मधुकुमार चौलागाईंले सुनारमाथि परेको उजुरीका विभिन्न पक्षबारे प्रश्न गरेका थिए। 

महिला हिंसा र मिलापत्रको विषयसँगै अभियन्ताका रूपमा रकम उठाएको भनिएको आरोप, प्रहरीको डीआईजी बढुवामा आर्थिक लेनदेन गरेको भनिएको विषय, सांसद बनाइदिने भन्दै रकम लिएको आरोप र हाम्रो नेपाल पार्टीसँगको सम्बन्धबारे उनले स्पष्टता मागेका थिए।

उनले जर्मनीबाट निष्कासन भएको भनिएको विषयबारे पनि प्रश्न गरेका थिए। उजुरीमा उल्लेखित आर्थिक कारोबार र राजनीतिक आबद्धतासम्बन्धी दाबीको जवाफ सुनारसँग मागिएको थियो।

गिरीबहादुर सुनारः

यद्यपी बैठकमा सुनारले आफूले महिला हिंसा गरेको आरोप अस्वीकार गरेका छन्। आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको उल्लेख गर्दै उनले आरोप प्रमाणित हुनुपर्ने बताएका थिए।

उनले उजुरीकर्ताले उल्लेख गरेकी महिलासँग विगतमा प्रेम सम्बन्ध रहेको र आपसमा भनाभन भएको स्वीकार गरेका थिए। तर, उक्त विवाद सन् २०१३ मै सकिएको अवस्थामा अहिले पुनः उठाइएको उनको भनाइ थियो।

आफूले महिला हिंसाविरुद्ध तथा आत्मसशक्तीकरणका विषयमा पाँच हजारभन्दा बढीलाई तालिम दिएको पनि उनले बताएका थिए। जर्मनीबाट निष्कासन भएको आरोपसमेत उनले अस्वीकार गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७