भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत
भदौदेखि न्यूनतम बिल नलाग्ने
काठमाडौं : भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बाढीबाट क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ।
बाढीबाट क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगका विद्युत् मिटरको लगत कट्टा गर्ने निर्णयसमेत भएको छ। लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपद्को समयमा प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति गराउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताए।
‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट संकलन हुने शुल्कसमेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको उनको भनाइ छ। भोटेकोशी बाढीबाट १५ पालिकामा विद्युत् सेवा प्रभावित भएको छ। ती क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेकाले प्रभावित ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिन सकिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ।
प्राधिकरणले अध्ययनका आधारमा यसै साता थप महसुल सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ। बाढीबाट विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकको विद्युत् सेवासँग जोडिएको तत्कालीन आर्थिक भार कम गर्ने उद्देश्यले राहत तथा सहजीकरण अघि बढाइएको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

