नेपाली सेनाद्वारा ६९६ जनाको हवाई उद्धार

९०० जनालाई स्वास्थ्य सेवा


२०८३ भदौ ११ बिहीबार २०:५२ बजे

काठमाडौं :  रसुवामा गएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको खोजी तथा उद्धारमा नेपाली सेना निरन्तर खटिएको छ। बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर तथा जमिनमार्फत उद्धार गर्नुका साथै स्वास्थ्य सेवा र राहत वितरणलाई समेत निरन्तरता दिएको छ।

नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट १०१ जना विदेशी नागरिकसहित ६९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। यस्तै, जमिनमार्फत थप २०० जनाको उद्धार गरिएको छ। यससँगै बिहीबार मात्रै कुल ८९६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

उद्धारसँगै प्रभावित तथा घाइते नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। सेनाका अनुसार त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रबाट ३५४ जना र धुन्चेको मेडिकल टिमबाट ५४६ जना गरी कुल ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाले ड्रोन र सैनिक कुकुर समेत परिचालन गरेको छ। विपद्पछिको उद्धार तथा राहत कार्यका लागि रसुवा र नुवाकोटमा ४ हजार २०० भन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। यस्तै, नुवाकोटदेखि चितवनसम्म थप १ हजार २०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ।

सेनाले उद्धारसँगै अवरुद्ध सडक सञ्चालनका लागि समेत काम गरिरहेको छ। पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाएर सडक सञ्चालन गर्ने तथा बाढीपहिरोमा मृत्यु भएकाहरूको शव उद्धार गर्ने काम पनि भइरहेको छ।

नेपाली सेनाले शुक्रबार पनि खोजी तथा उद्धारलाई निरन्तरता दिने जनाएको छ। सेनाका अनुसार नदी किनारमा शवको खोजतलास, आपत्कालीन उपचार सेवा निरन्तर सञ्चालन, मैलुङ, टिमुरे र स्याफ्रुवेशीका सुरुङमा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार र त्रिशूली–धुन्चे सडक सञ्चालनलाई प्राथमिकतामा राखिनेछ।

सेनाले प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार, उपचार र राहत वितरणलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७