सार्वजनिक सवारी दर्ता खुल्यो, उपत्यकाबाहिर ईभीलाई प्राथमिकता
काठमाडौं : सरकारले करिब चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। आगामी १ असोजदेखि लागू हुने गरी दर्ता खुला गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी)लाई प्राथमिकता दिँदै दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकामा भने सबै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र स्कुल बस तथा सट्टाभर्ना गर्न चाहने सवारीसाधन मात्र दर्ता गर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ। विभागले उक्त व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधन दर्ता गर्न सबै प्रदेश सरकारलाई जानकारी गराएको छ।
सरकारले यसअघि ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण तथा अहिले पुनः खुला गर्नुको आधारबारे भने विभागका अधिकारीहरूले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यकाबाहिर सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए।
यसैबीच, विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरिसकेको थियो। त्यसअघि ८ असारसम्म एलसी (लेटर अफ क्रेडिट) खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको विभागले जनाएको छ।
.gif)

.png)

