बाढी प्रभावितको उद्धार रातभर जारी रहन्छ, थप ६५६ फौज तयारी अवस्थामाः नेपाली सेना


२०८३ भदौ १० बुधबार २३:०५ बजे

काठमाडौं :  नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज तथा उद्धार कार्य रातभर जारी राख्ने भएको छ। बाढी प्रभावितको संख्या ठूलो रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको अवस्थामा सेनाले उद्धार तथा खोज कार्यलाई थप तीव्रता दिँदै रातभर अभियान सञ्चालन गर्ने जनाएको हो।

सेनाका अनुसार रातभर ‘११ एक्स टिम’मार्फत जमिनबाट खोज तथा उद्धार जारी रहनेछ। बिहीबार बिहान टिमुरेभन्दा माथिल्लो क्षेत्रमा रहेका ठूलो संख्याका मानिसलाई हवाई माध्यमबाट उद्धार गर्ने तयारी गरिएको छ। विभिन्न सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि समेत प्रयास जारी रहने सेनाले जनाएको छ।

उद्धार अभियानलाई प्रभावकारी बनाउन हवाई साधनको समन्वयात्मक परिचालन, राहत सामग्री वितरण तथा मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सहयोग गर्ने सेनाले जनाएको छ।

त्यस्तै, जमिनमा थप फौज परिचालन गरी विस्तृत खोज तथा उद्धार गरिनेछ। अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा स्थानीय बासिन्दासँग समन्वय गरी जोखिममा रहेका लक्षित समूहको उद्धारलाई निरन्तरता दिइने सेनाले जनाएको छ।

सेनाका अनुसार बुधबार दिनभर उद्धार, खोज तथा राहतका लागि १ हजार ६९७ जना सैनिक परिचालन गरिएको थियो। थप उद्धार तथा खोजका लागि ६५६ जना फौजलाई तयारी अवस्थामा राखिएको छ।

दिनभरको उद्धार अभियानमा नेपाली सेनाका ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जना तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जना गरी हवाई माध्यमबाट १०६ जनाको उद्धार गरिएको छ। जमिनबाट थप २७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

राहततर्फ सेनाले प्रभावित क्षेत्रमा ८०० किलो टेन्ट र २०० किलो मेडिकल सामग्री पुर्‍याएको छ। उद्धारका लागि परिचालित हेलिकप्टरमार्फत प्रभावित तथा उद्धारमा खटिएका व्यक्तिका लागि खाना र पानीसमेत उपलब्ध गराइएको सेनाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७