बाढीले बगाएर ल्याएका गरगहना लुकाएको आरोपमा एक पक्राउ
काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित धनीलाई जानकारी नदिएको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो।
घर बगाउने क्रममा नदीले बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारेको र त्यसबारे कसैलाई जानकारी नदिई आफ्नै घरमा राखेको बोगटीले अन्य व्यक्तिमार्फत थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको जनाएको छ। तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
.gif)

.png)

