२४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८५२ चालक कारबाहीमा
काठमाडौं : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८५२ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीमार्फत ६५ जना र रातोबत्ती उल्लंघन गर्ने ४८ जना चालक कारबाहीमा परेका छन्। यसैगरी तीव्र गतिमा सवारी चलाउने ७० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २५ जना र लेन क्रस गर्ने २४ जना चालकलाई कारबाही गरिएको छ।
अवस्था ठीक नभएका सवारी चलाउने २२ जना, एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १४ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५०१ जना चालकसमेत कारबाहीमा परेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।
.gif)

.png)

