भोटेकोशी जलविद्युतको सुरुङमा एक शव फेला

उद्धार तथा खोजी कार्य जारी


२०८३ भदौ २५ बिहीबार ०८:४० बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धार अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ। सेनाले बुधबार विभिन्न स्थानबाट ८१ जनाको जीवित उद्धार गरेको जनाएको छ। 
सैनिक मुख्यालयका अनुसार सेनाको हवाई खोज तथा उद्धार अभियानबाट हालसम्म ४ हजार ८१ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ७९८ जना नेपाली र २८३ जना विदेशी रहेको सेनाले जनाएको छ। बाढी प्रभावित जलविद्युत आयोजनाका टनेलमा पनि खोज तथा उद्धार कार्य जारी छ। रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम, आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले पावरहाउस, ट्रान्सफर्मर रुम तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ।
भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा नेपाली सेनाको टोली करिब ५० मिटरभित्र पुग्दा एक शव फेला परेको छ। लाङटाङ जलविद्युत आयोजनामा पानीको मात्रा घटाउन च्यानल निर्माण गर्दै खोजी कार्य जारी राखिएको छ। 
त्यस्तै, चिलिमे हाइड्रोको टनेलमा विदेशीसमेत सहभागी संयुक्त टोली करिब १४० मिटरभित्र प्रवेश गरेर खोजी गरिरहेको छ। एभीएटीए ड्रोनमार्फत समेत करिब ४० मिटरसम्म खोजी गरिएको भए पनि हालसम्म कोही फेला नपरेको सेनाले जनाएको छ। टनेलसम्म हेभी इक्विपमेन्ट पुर्‍याउन पहुँचमार्ग निर्माणको काम पनि भइरहेको छ। चट्टानी भूभागमा २५ मिटर ब्लास्टिङ गरेर हटाउनुपर्ने र उक्त स्थानसम्म पुग्न अझै ५० मिटर बाँकी रहेको सेनाको अपडेटमा उल्लेख छ।
माथिल्लो त्रिशूली–१ आयोजनाको हाकुबेशीस्थित अडिट–३ टनेलमा विदेशीसमेत सहभागी संयुक्त टोली करिब १ हजार २०० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ। त्यहाँबाट पनि हालसम्म कोही फेला नपरेको सेनाले जनाएको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाका ३५, नेपाल प्रहरीका १०, सशस्त्र प्रहरीका १० जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८७, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरीका १० जनासहितको संयुक्त टोलीले एक्साभेटर प्रयोग गरी उत्खनन गरिरहेको छ। करिब ११ मिटर गहिराइमा उत्खनन गर्दा करिब चार फिटको बीम तथा पिलर र केही इँटा फेला परेको सेनाले जनाएको छ।
यसैबीच नुवाकोटको विदुर–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र बनाएको छ। पैदल खोजीअन्तर्गत रसुवा र नुवाकोटका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, मैलुङ र स्याफ्रुबेंसीलगायत प्रभावित क्षेत्रमा गस्ती तथा खोजी भइरहेको छ। विदेशीसहितको संयुक्त टोलीले देवीघाटको करिब पाँच किलोमिटर क्षेत्र र टिमुरेमा थर्मल ड्रोनमार्फत खोजी गरे पनि हालसम्म कोही फेला नपरेको सेनाले जनाएको छ। 
यसैबीच, नेपाली सेनाले त्रिशूली र धुञ्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार २४ जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म ३ हजार ५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। सेनाका अनुसार उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७