शालिकको अनुहार जेनजी सहिदसँग मिलेन, अनावरण कार्यक्रम स्थगित
काठमाडौं : जेनजी सहिदका शालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्माण गरिएका अधिकांश शालिकमा सहिदहरूको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि बुधबार तय गरिएको अनावरण कार्यक्रम रोकिएको हो।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरूको शालिक निर्माण गर्ने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो। सोही सरकारको कार्यकालमा निर्माण सुरु गरिएको शालिक अहिले सम्पन्न भएको हो। भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार शालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो। कार्यक्रममा सबै सहिद परिवारलाई निम्तो दिइएको थियो।
अनावरणका लागि गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल शालिकस्थल पुगिसकेका थिए। त्यस्तै, सुशीला कार्की नेतृत्वको सरकारका सञ्चारमन्त्री जगदीश खरेलदेखि सांसद तोसिमा कार्कीसम्मको उपस्थिति थियो। औपचारिक अनावरणअघि सहिद परिवारका सदस्यहरूले सम्बन्धित सहिदको शालिकमाथि राखिएको पर्दा हटाएर हेरेका थिए। तर शालिक हेरेपछि अधिकांश परिवारजनले असन्तुष्टि जनाए।
उनीहरूको मुख्य गुनासो आफूहरूले उपलब्ध गराएको तस्बिरसँग शालिकको अनुहार नमिलेको थियो। कतिपय शालिकमा सहिदको उमेर र हुलियासमेत नमिलेको परिवारजनले बताएका छन्। परिवारजनले मन्त्रीहरूसमक्ष गुनासो राखेपछि तत्कालका लागि अनावरण कार्यक्रम स्थगित गरिएको हो। मन्त्रीहरूले अब एक महिनाभित्र शालिक पुनर्निर्माण गरेर मात्र अनावरण गर्ने बताएका छन्। एक सहिद परिवारका सदस्यले शालिक निर्माणमा हेलचेक्र्याइँ भएको आरोप लगाए। '२४/२५ वर्षको व्यक्तिलाई ४०/४५ वर्षको जस्तो बनाइदिएको छ । कसरी स्वीकार गर्ने ?', उनले भने।
.gif)

.png)

