चिलिमे सुरुङमा ९० मिटरभित्र पुग्यो उद्धार टोली, थुनिएकाहरू जीवितै भेटिने आशा


२०८३ भदौ २३ मंगलबार १८:१५ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धारका लागि टोली पावरहाउस क्षेत्रनजिक पुगेको छ। सुरुङभित्र सुरक्षित स्थान र खाद्यान्न उपलब्ध रहेको सूचनाले थुनिएका व्यक्तिहरू जीवितै फेला पर्ने आशा बढाएको छ। आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोली अहिले पावरहाउस क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा पुगेको छ। सुरुङभित्र हालसम्म करिब ९० मिटर दूरी पार गरिएको उनले जानकारी दिए।

न्यौपानेका अनुसार आयोजनाको सुरुङको डिजाइन र संरचनाको अध्ययन गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा छ। अहिले सुरुङभित्र लेदो मिसिएको पानीको सतहलाई हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला तथा सुरक्षित स्थान रहेको अनुमान गरिएको छ। त्यहाँ चामल, पानी, चिनी, चिया तथा ब्याट्रीलगायत अत्यावश्यक सामग्री रहेको जानकारी प्राप्त भएको न्यौपानेले बताए। ‘यदि सबै व्यक्तिहरू उक्त स्थानसम्म पुग्न सफल भएका छन् भने उनीहरू सुरक्षित अवस्थामा रहेको हाम्रो विश्वास छ,’ उनले भने।

उद्धार टोलीले बाँकी दूरी पार गरी भोलिसम्म एक्स्काभेटरलाई पावरहाउसको पहुँच मार्गसम्म पुर्‍याउने लक्ष्य राखेको छ। सुरुङको अवस्था र संरचनाबारे प्राविधिक टोलीले ड्रइङ तथा डिजाइनको निरन्तर अध्ययन गरिरहेको छ। न्यौपानेका अनुसार सुरुङभित्र थुनिएका व्यक्तिको जीवनरक्षाका लागि अहिले अक्सिजन र हावाको गुणस्तर सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। पानी उपलब्ध भएको र शारीरिक गतिविधि कम गरी ऊर्जा जोगाउन सके लामो समयसम्म बाँच्न सकिने सम्भावना रहने उनको भनाइ छ। उद्धार कार्यमा भइरहेको प्रगतिलाई सन्तोषजनक मानिएको छ। सुरुङभित्रको जोखिमपूर्ण अवस्थाबीच प्राविधिक तथा उद्धार टोली पावरहाउसतर्फ अघि बढिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७