सुरुङको अँध्यारोभित्र जीवनको खोजीः ९ हजार बढी सैनिक परिचालन
काठमाडौं : बाहिर उद्धार टोलीको निरन्तर दौडधुप छ। भित्र भने अँध्यारो सुरुङ, लेदो र भग्नावशेष। हरेक मिटर अगाडि बढ्दा एउटै प्रश्न छ-सुरुङभित्र थुनिएका मानिसहरू जीवितै छन्? यही प्रश्नको उत्तर खोज्दै रसुवाका जलविद्युत आयोजनाका सुरुङमा उद्धार टोलीले जोखिमपूर्ण खोजीलाई तीव्र बनाएको छ।
चिलिमेदेखि रसुवागढीसम्म नेपाली सेना, विदेशी प्राविधिकसहितको संयुक्त टोली सुरुङभित्र पसेर सम्भावित जीवित व्यक्तिको खोजीमा जुटेको छ। चिलिमे जलविद्युत आयोजनामा उद्धार टोली करिब ११५ मिटर सुरुङभित्र प्रवेश गरिसकेको छ। लेदो र भग्नावशेष हटाउन विन्च मेसिन र बकेट प्रयोग भइरहेको छ। सुरुङसम्म भारी उपकरण पुर्याउन बाटोमा रहेका ठूला चट्टान हटाउने कामसमेत भइरहेको छ।
उद्धारका लागि सुरुङभित्र हिँड्न मिल्ने बाटो बनाउन ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप जडान गरिएको छ। अबको लक्ष्य थप भित्र पुगेर सम्भावित जीवित व्यक्तिसम्म पहुँच बनाउनु हो। उद्धार टोलीका लागि सुरुङको हरेक मिटर चुनौतीपूर्ण छ। तर त्यही अँध्यारोभित्र जीवनको सम्भावना खोज्ने प्रयास रोकिएको छैन।
यता रसुवागढी जलविद्युत आयोजनामा पनि कम्पोजिट क्विक रियाक्शन टिम, नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ।
भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा भने ड्रोनबाट गरिएको खोजीका क्रममा एक शव फेला परेको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि संयुक्त टोलीले खोजीलाई निरन्तरता दिएको छ। माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोली मुख्य प्रवेश सुरुङमा करिब ४०० मिटरभित्र पुगेको छ। त्रिशूली–३ ‘ए’ र ‘बी’ आयोजनामा पनि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्राविधिक परिचालन गरी खोजी भइरहेको छ।
सुरुङभित्र थुनिएका व्यक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा अक्सिजन र हावाको गुणस्तर हो। त्यसपछि पानी, तापक्रम र शरीरले खर्च गर्ने ऊर्जाको अवस्था महत्त्वपूर्ण हुन्छ। उद्धार टोली भने यी सबै अनिश्चितताबीच अगाडि बढिरहेको छ। बाहिरबाट हेर्दा केही मिटरको दूरी मात्रै लाग्ने बाटो सुरुङभित्र उद्धारकर्ताका लागि घण्टौँको संघर्ष बन्न सक्छ। त्यसैले अहिले चिलिमे र रसुवागढीका सुरुङमा हरेक मिटर प्रगति भनेको सम्भावित जीवनतर्फको एक कदम बनेको छ।
सुरुङभित्र खोजी भइरहँदा बाढी–पहिरो प्रभावित अन्य क्षेत्रमा पनि उद्धार अभियान जारी छ। नेपाली सेनाका अनुसार हवाई माध्यमबाट हालसम्म ४ हजार ४० जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ७५७ नेपाली र २८३ विदेशी नागरिक छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सैनिक खोज तथा उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा परिचालित छन्। तर अहिले उद्धार अभियानको सबैभन्दा संवेदनशील दृश्य ती सुरुङभित्र छ—जहाँ उद्धार टोली लेदो, भग्नावशेष र अँध्यारो छिचोल्दै जीवनको कुनै संकेत भेटिन्छ कि भनेर पर्खिरहेको छ।
.gif)

.png)

