पोर्चुगलका सेफ सापकोटाले गरे बाढीपीडितलाई ५१ लाख सहयोग
लिस्बन : पोर्चुगलमा कार्यरत चर्चित सेलिब्रिटी सेफ टंक सापकोटाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। सापकोटा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १ सय ५१ रुपैयाँ (करिब २९ हजार युरो) सहयोग प्रदान गरेको हो।
विपद्को कठिन घडीमा मातृभूमि र पीडित समुदायसँग आफूले जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्मसम्मानको विषय भएको सापकोटाले बताए। उनले पोर्चुगिज नागरिकले आफू, आफ्नो परिवार, रेस्टुरेन्ट तथा व्यवसायप्रति वर्षौंदेखि देखाउँदै आएको माया, विश्वास र सद्भावप्रति आभार व्यक्त गरेका छन्। साथै आफ्नो व्यावसायिक यात्रासँग जोडिएका ग्राहक, मित्र, शुभेच्छुक तथा विश्वभरका सहयोगी व्यक्तिलाई पनि धन्यवाद दिएका छन्।
सापकोटाले पछिल्लो विपद्ले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असरबारे गम्भीर प्रश्न उठाएको बताए। जलवायु परिवर्तनमा न्यून योगदान भएका निर्दोष मानिस तथा समुदाय नै यसको सबैभन्दा ठूलो मारमा परिरहेको उनको भनाइ छ। नेपालमा जन्मिएर विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका सापकोटाले मातृभूमिमा आएको विपत्तिप्रति आफू उदासीन रहन नसक्ने बताए।

'नेपाल मेरो मातृभूमि हो, म जन्मिएको ठाउँ हो, मेरा जरा र मेरो पहिचानसँग जोडिएको देश हो। नेपाल र तिब्बतमा यति धेरै मानिसले दुःख पाइरहेको देख्दा मलाई अत्यन्त दुःख लागेको छ र म यसप्रति उदासीन रहन सक्दिनँ', उनले भने। सापकोटाले पोर्चुगलमा आफ्नो व्यावसायिक यात्राका क्रममा खानालाई विभिन्न सामाजिक अभियानसँग जोड्दै आएका छन्।
रेस्टुरेन्ट तथा सार्वजनिक पहिचानमार्फत सामाजिक उद्देश्यका लागि समुदाय परिचालन गर्दै आएका उनले यसपटक पनि मानवीय सहयोग र एकताका लागि आफ्नो भूमिका प्रस्तुत गरेका हुन्। सापकोटा परिवारले यस अभियानमा साथ र सद्भाव प्रदान गरेकोमा पोर्चुगलस्थित नेपाली राजदूतावासप्रति समेत आभार व्यक्त गरेको छ।
.gif)

.png)

