विदेशी उद्धार टोलीलाई रोकिएको होइन, सुरुदेखि समन्वय भइरहेको छ : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपद्पछि उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परिचालन गरिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले विपद्पछि सञ्चालन भइरहेको उद्धार, राहत वितरण, उद्धारका क्रममा देखिएका चुनौती तथा अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका हुन्। उनले विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण रहेको बताए।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण हवाई उद्धारमा समेत समस्या देखिए पनि रातको समयमा समेत प्राविधिक तथा सुरक्षाकर्मीको टोली परिचालन भइरहेको उनले जानकारी दिए। टनेलभित्र रहेकाहरूलाई आवश्यक अक्सिजन र खाद्यान्न पुर्याउने वैकल्पिक उपायमा समेत सरकारले काम गरिरहेको उनले बताए। त्यसका लागि सुरुङको माथिल्लो भाग (हेड) बाट खन्ने वा ड्रिल गर्ने विकल्पमा अध्ययन भइरहेको उनको भनाइ छ।
गृहमन्त्री गुरुङका अनुसार उद्धारका क्रममा दलदले माटोका कारण एक्साभेटरसमेत डुब्ने अवस्था रहेको छ। यस्तो कठिन परिस्थितिका बाबजुद उद्धारका लागि सम्भावित सबै विकल्प खुला राखिएको उनले बताए।
विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै उनले भारत र चीनका टोली तेस्रो दिनदेखि नै नेपाली सेनासँग समन्वय गरेर सर्भे तथा उद्धार योजनामा सहयोग गरिरहेको स्पष्ट पारे। अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाई क्षेत्र भएकाले सम्भावित दुर्घटना रोक्न तथा उद्धारलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागू गरिएको गृहमन्त्रीले बताए।
यसैबीच, बाढीपहिरोको पूर्वसूचना प्रवाह गरी नागरिकको ज्यान जोगाउने क्रममा चार जना सुरक्षाकर्मी बेपत्ता भएको उनले जानकारी दिए। उनका अनुसार राति ९ः१५ बजेदेखि नै एसएमएस तथा माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिएको थियो। सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको उद्धार तथा सुरक्षामा खटिएको उनले बताए।
.gif)

.png)

