कृष्णभीरको पहिरोले यात्रुलाई सास्ती
उपचारका लागि रेफर भएका बिरामीसमेत प्रभावित
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ। नियमित सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपरेपछि यात्रा अवधि र यातायात खर्च दुवै बढेको छ।
भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं जाने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने बेँसीसहर–काठमाडौं यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ।
लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढेसँगै सवारीसाधन तथा यात्रुको सङ्ख्यासमेत घटेको छ। बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँच–सात वटामात्र सञ्चालनमा छन्। सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९ सय रुपैयाँ र विद्युतीय माइक्रोबसको ७ सय रुपैयाँ रहेकामा अहिले क्रमशः २ हजार र १ हजार ५ सय रुपैयाँ पुगेको छ।
ठूला बसको आवागमन पनि घटेको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौं दैनिक पाँच–छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ। वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन। यसअघि सवारीसाधनअनुसार ९ सयदेखि १ हजार २ सय रुपैयाँसम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी पुगेको छ।
सडक अवरोधको असर उपचारका लागि काठमाडौं, चितवन तथा पोखरा रेफर हुने बिरामीमा समेत परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार केही बिरामीलाई एम्बुलेन्समार्फत घुमाउरो बाटो हुँदै लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था छ। यसले बिरामी तथा आफन्तलाई थप झन्झटसँगै उपचार खर्चसमेत बढाएको रेग्मीले बताए।
बेँसीसहरकी प्रकृति श्रेष्ठले पनि वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन्। उनका अनुसार काठमाडौं जाँदा माइक्रोबसमा ९ सय रुपैयाँ तिरेकोमा फर्किंदा २ हजार रुपैयाँ भाडा तिर्नुपरेको थियो। वैकल्पिक सडक लामो र थकाइलाग्दो हुनुका साथै वर्षाका कारण चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले यात्रु थप जोखिममा परेका छन्।
नियमित मार्ग सञ्चालनमा नआएसम्म लमजुङ–काठमाडौं यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक सडकको जोखिमका कारण थप सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ।
.gif)

.png)

