बाढी आएको चार दिनसम्म पनि ११ जलविद्युत् आयोजनाका ८९८ जना सम्पर्कविहीन

सुरुङभित्र उद्धार चुनौतीपूर्ण


२०८३ भदौ १४ आइतबार १८:३० बजे

काठमाडौं : भोटेकोशी–त्रिशूली क्षेत्रमा विनाशकारी बाढी आएको चार दिन बितिसक्दा पनि ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। सम्बन्धित आयोजनाका अनुसार सम्पर्कविहीनमध्ये ठूलो संख्या सुरुङ तथा पावरहाउसमा फसेको आशंका गरिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार रसुवाका ६ र नुवाकोटका ५ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे पूर्ण विवरण अझै प्राप्त हुन सकेको छैन। रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा सबैभन्दा धेरै ५७६ जना सम्पर्कविहीन रहेको विवरण छ। तीमध्ये २५४ जनाको उद्धार भइसकेको र करिब ३०० जना सुरुङभित्र फसेको अनुमान गरिएको छ।

यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना, चिलिमेमा ८ जना, मैलुङ खोलामा ७ जना र रसुवा–भोटेकोशीमा ४ जना सम्पर्कविहीन छन्। नुवाकोटको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’मा १२२ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना, मिडल त्रिशूली गंगामा २ जना तथा त्रिशूली र देवीघाट आयोजनामा एक–एक जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।

सुरुङभित्र फसेकाको उद्धारमा चुनौती

इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार सम्पर्कविहीनमध्ये धेरैजसो सुरुङ वा पावरहाउसमा फसेको हुन सक्ने अनुमान छ। सुरुङभित्र हावा आवतजावत हुने अवस्था कायम रहेको ठाउँमा अझै पनि जीवितै उद्धारको सम्भावना रहेको उनले बताएका छन्। विशेषगरी माथिल्लो त्रिशूली–१ को करिब साढे ९ किलोमिटर लामो सुरुङमा छ वटा 'अडिट टनेल' रहेको र तीमध्ये केही खुला रहेकाले भित्र हावा पुगिरहेको हुनसक्ने डाँगीको भनाइ छ। अडिट टनेल मुख्य सुरुङसम्म पुग्न बनाइने सहायक सुरुङ हो। यस्ता सुरुङले मुख्य प्रवेशद्वार अवरुद्ध भएको अवस्थामा वैकल्पिक बाटोका रूपमा काम गर्न सक्छन्। त्यसैले सुरुङभित्र फसेकाहरूको उद्धारमा यसको विशेष महत्त्व हुन्छ। 

यस्तै लाङटाङ खोला आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार त्यहाँ सम्पर्कविहीन ४२ जनामध्ये २५ जना सुरुङभित्र काम गरिरहेका थिए। समयमै उद्धार संयन्त्र परिचालन गर्न सके उनीहरूलाई सुरक्षित उद्धार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ। रसुवागढी आयोजनामा पनि बाढीका बेला पावरहाउसमा करिब १४ जना कार्यरत रहेको बताइएको छ। उनीहरू पावरहाउसमा फसेका हुन् वा अन्यत्र पुगेका छन् भन्ने यकिन हुन सकेको छैन।

उद्धारमा ढिलाइ, सम्भावना अझै बाँकी

इप्पान अध्यक्ष डाँगीले सुरुङ उद्धार प्राविधिक र जोखिमपूर्ण काम भएकाले विदेशी विशेषज्ञको सहयोग समयमै लिनुपर्ने भए पनि त्यसमा ढिलाइ भएको बताए। आफूहरू उद्धारमा खटिन तयार रहेपनि आवश्यक अनुमति नपाएको र माथिल्लो त्रिशूली–१ मा कोरियन प्राविधिकहरूले समेत उद्धारमा सहयोग गर्ने प्रस्ताव गरेको भए त्यसअनुसार अघि बढ्न नसकिएको गुनासो छ। 

चौतर्फी दबाबपछि सरकारले भने चीन र भारतबाट सुरुङ उद्धारमा विशेषज्ञ टोली ल्याएर परिचालन गर्न थालेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। भारतबाट पनि सुरुङ उद्धारमा दक्ष टोली प्रभावित क्षेत्रमा पुगेको छ। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत् आयोजनामा सुरुङ खोल्ने तथा खोजी–उद्धारको काम भइरहेको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। सुरुङ विज्ञ तथा प्राविधिक टोलीले अवरोध हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास गरिरहेको छ। उद्धारमा संलग्न टोलीका अनुसार सुरुङको एक भागमा पुग्न सकिने अवस्था बनेकाले फसेकाहरूको खोजी तथा उद्धारको प्रयास जारी छ।

भौगोलिक अवस्था, बाढीले पुर्‍याएको क्षति, सुरुङभित्र जमेको पानी तथा माटो र आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ हुँदा उद्धार चुनौतीपूर्ण बनेको छ। यद्यपि, सम्बन्धित आयोजना र उद्धारमा संलग्न अधिकारीहरूले सम्पर्कविहीनहरूको जीवित उद्धारको सम्भावना अझै नटरेको बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७