काठमाडौंमा रात्रिकालीन बस सेवा विस्तार, ३० बस ६ रुटमा कँहा-कहाँ चल्ने ?


२०८३ असोज ४ आइतबार १९:१३ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका ९ स्थानीय तह र साझा यातायातबीच सहकार्य भएपछि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइने भएको हो।

यसअघि परीक्षणका रूपमा सीमित रुटमा सञ्चालन गरिएको रात्रिकालीन बस सेवालाई अब थप रुटमा विस्तार गरिएको हो। रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, श्रमिक, व्यवसायी, बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो।

रात्रिकालीन बस सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाबीच सहकार्य भएको छ।

सम्झौतापछि जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, लगनखेल–बूढानीलकण्ठ हुँदै गोदावरीसम्म ६ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन बस सेवा अब नियमित र दिगो रूपमा सञ्चालन गर्ने गरी स्थानीय तहबीच सहकार्य गरिएको बताइन्।

उनका अनुसार परीक्षणका क्रममा दुई रुटमा सञ्चालन गरिएको सेवालाई विस्तार गर्दै बसको संख्या ७ बाट ३० पुर्‍याइएको छ। आवश्यकताका आधारमा सेवा थप विस्तार गर्दै आर्थिक दायित्वसमेत स्थानीय तहले वहन गर्ने व्यवस्था गरिएको उनले बताइन्।

यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो। परीक्षण तथा लाभ–लागत विश्लेषणपछि यात्रुबाट प्राप्त हुने आम्दानीभन्दा सार्वजनिक सेवा महत्वपूर्ण हुने निष्कर्षका आधारमा सेवा विस्तार गरिएको हो।

६ रुटमा कहाँ–कहाँ चल्छन् बस ?

  • जगाती–सूर्यविनायक–ठमेल : ६ बस
  • लगनखेल–बूढानीलकण्ठ–गोदावरी : ६ बस
  • चक्रपथका दुवै दिशामा : ८ बस
  • कीर्तिपुर–जमल : ४ बस
  • टाखेल–ठमेल : २ बस
  • नागढुंगा–एयरपोर्ट : ४ बस

सम्झौताअनुसार यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले सञ्चालन खर्च नपुगेमा त्यसको ५० प्रतिशत रकम सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन्। बाँकी ५० प्रतिशत रकममध्ये काठमाडौं र ललितपुर महानगरपालिकाले १८.५५–१८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९-९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ। साझा यातायातले प्रत्येक त्रैमासिकमा सेवा सञ्चालनका लागि आवश्यक अपुग रकम माग गर्न सक्ने व्यवस्था गरिएको छ।

यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन्। आर्थिक वर्ष २०८३र८४ भित्र ती स्थानमा डिजिटल साइनेजसहित डिजिटल बस स्टप निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ। त्यस्तै, रुटका अन्तिम बिन्दुमा विद्युतीय बसका लागि चार्जिङ स्टेसन निर्माण गर्न सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ।

चक्रपथमा रात्रिकालीन बस सेवा सञ्चालन भएपछि यात्रुले एक स्थानमा बस परिवर्तन गरेर विभिन्न रुटमा यात्रा गर्न सक्नेछन्। यस्तो यात्रामा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ। टिकट बिक्रीमा हुने आर्थिक चुहावट रोक्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। यात्रुले क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्नेछन्।

हाल साझा यातायातमा १११ वटा बस सञ्चालनमा छन्। संस्थामा नेपाल सरकारको ३ अर्ब रुपैयाँ तथा काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७