क्रिकेटर सन्दीप लामिछानेले एक महिनाको तलब बाढीपीडितलाई दिने

हरेक विकेट र बाउन्ड्री नेपालका लागि


२०८३ भदौ १४ आइतबार १४:०६ बजे
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। 

मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। उनले कठिन परिस्थितिमा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै मैदानमा आफ्नो शतप्रतिशत दिने बताएका छन्। उनले प्रतियोगितामा नेपालले लिने हरेक विकेटबापत १ हजार ५ सय रुपैयाँ तथा नेपाली खेलाडीले प्रहार गर्ने हरेक चौका र छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

लामिछानेले यस्तो सहयोग बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने बताएका छन्। ‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो,’ उनले लेखेका छन्। तेस्रो संस्करणको एसीसी प्रिमियर कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। १० टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ। नेपालले प्रतियोगिताको पहिलो खेल सोमबार बहराइनसँग खेल्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७