विवादास्पद अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनार विवादमा : राजीनामाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिलामाथि आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्।
अडियो सार्वजनिक भएसँगै उनको अभिव्यक्तिको आलोचना हुनुका साथै सांसद पदबाट राजीनामा र कानुनी कारबाहीको मागसमेत उठ्न थालेको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सांसद सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको हो।
केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियोमा उनले एक महिला पूर्वसांसदलाई लक्षित गरी अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरेको र धम्कीपूर्ण भाषा बोलेको सुनिन्छ।
अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सांसद सुनारको अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया आइरहेको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिले प्रयोग गर्ने भाषाको मर्यादा र जिम्मेवारीमाथि प्रश्न उठाउँदै उनीमाथि कारबाही हुनुपर्ने आवाजसमेत उठेको छ।
विवाद चर्किएपछि सांसद सुनारले आफ्नो फोन स्वीच अफ गरेका छन्। सञ्चारकर्मीले प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेका छैनन्।
यस विषयमा रास्वपाको आधिकारिक धारणा बुझ्न खोज्दा पार्टी प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आफू काठमाडौँबाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको बताउँदै उनले विषय बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताएका छन्।
सांसद सुनार यसअघि पनि विभिन्न विवादका कारण चर्चामा आएका थिए।
प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरणमा नाम जोडिनु तथा गाईसम्बन्धी विवादित अभिव्यक्तिका कारण उनी पटक–पटक आलोचित हुँदै आएका छन्।
पछिल्लो अडियो प्रकरणले फेरि उनको सार्वजनिक आचरणमाथि प्रश्न उठाएको छ। यद्यपि, सार्वजनिक भएको अडियोको स्वतन्त्र पुष्टि र त्यसको पूर्ण सन्दर्भबारे स्पष्ट जानकारी आउन बाँकी छ।
सांसद सुनारमाथि उठेका प्रश्नबारे रास्वपाले कस्तो निर्णय लिन्छ र घटनाको थप छानबिन वा कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।
.gif)

.png)



