संकटमा किन गुम्दैछ हाम्रो संवेदनशीलता ?
भोटेकोशी–त्रिशूली बाढीसँगै बगेका मानवीय नैतिकताका मूल्यहरू
बाढीले मानिस, घर, सडक, पुल र संरचना बगाउँदा त्यसले भौतिक क्षतिसँगै एउटा गहिरो प्रश्न किनारमा छाडेर जान्छ। विपत्तिको भेलमा हाम्रो मानवता पनि बग्यो कि अझै केही संवेदना बाँकी छ ?
भदौ १० गते रसुवाको भोटेकोशीमा चीनको तिब्बततर्फबाट अचानक आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्याएको छ।
रसुवाको स्याफ्रुबेँसी, टिमुरे, नुवाकोटको बेत्रावती, त्रिशूली, धादिङको गल्छी, गजुरी, मलेखु, चितवनको मुग्लिन, नारायणगढ र देवघाट हुँदै नवलपुरसम्म क्षति पुर्यायो। त्रिशूली नदीको बहावमा मिसिएको बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना, सुरक्षा संरचना र व्यापारिक पूर्वाधारमा ठूलो विनाश गरेको छ।
तर यी सबैभन्दा भयावह तथ्य त मानिसहरू हराइरहेका छन्, बेपत्ता छन्, परिवारहरू टुक्रिएका छन् र नदी किनारमा जीवनका अन्तिम चिनारी बनेका शवहरू छरपस्ट छन्।
त्रिशूली नदी बगिरहेछ, किनारहरू रोइरहेछन्
भोटेकोशीको बाढी रसुवादेखि त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीका विभिन्न क्षेत्रमा पुग्यो। नारायणी नदी किनारमा बाढीले बगाएर ल्याएका दर्जनौँ शव भेटिएका छन्। नेपाल प्रहरीले संकलन गरेको मानवीय क्षतिको तथ्यांक क्रमशः बढिरहेको छ। हालसम्म सयौँ शव फेला परेका छन् भने हजारौँ मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। यसको अर्थ प्रत्येक अंकको पछाडि एउटा परिवार छ। सयौँ परिवार शोकमा छन्। हजारौँ बेपत्ताका परिवारहरू प्रतीक्षामा ढोकातिर आँखा लगाइरहेका छन्।
कति बालबालिका आमाबुबा फर्किने आशामा छन्। कति आमाबुबा आफ्ना छोराछोरीको खोजीमा छन्। कति श्रीमतीले श्रीमान् फर्किने आशा छाडेकी छैनन्। कति जनताको सेवामा खटिएका राष्ट्रसेवकहरू कार्यस्थलमै अस्ताएका छन्। कति पहिचान हुन नसकेका शवको अगाडि उभिएर आफन्तले आफ्नो मान्छे हो कि होइन भनेर अनुहार खोजिरहेका छन्।
कसैको हातमा हराएको मान्छेको तस्बिर छ, कसैको आँखामा फर्किने आशा, अनि कसैको मनमा एउटा मात्रै प्रश्न‘मेरो मान्छे कहाँ होला?’ त्रिशूली बगिरहेछ, तर नदीसँगै बगेका ती जीवनका कथा, परिवारका सपना र प्रतीक्षाहरूको हिसाबकिताब गर्न किनारहरू रोइरहेछन्।
कतै न सासको ठेगान छ, न लासको अत्तोपत्तो। कतै बेपत्ताको खबर खोज्दै परिवारहरू अस्पतालका ढोकादेखि प्रहरी कार्यालयसम्म भौँतारिरहेका छन्। कसैको हातमा हराएको मान्छेको तस्बिर छ, कसैको आँखामा फर्किने आशा, अनि कसैको मनमा एउटा मात्रै प्रश्न—‘मेरो मान्छे कहाँ होला?’ त्रिशूली बगिरहेछ, तर नदीसँगै बगेका ती जीवनका कथा, परिवारका सपना र प्रतीक्षाहरूको हिसाबकिताब गर्न किनारहरू रोइरहेछन्।
उजाडिएका बस्तीहरू
रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, पैरेबेँसी र शान्तिबजारदेखि नुवाकोटको बेत्रावती, त्रिशूली बजारसम्मका बस्तीहरू बाढीको वितण्डाले पुरिएर उजाड मरुभूमिजस्तै बनेका छन्। टिमुरेमा करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ। रसुवागढी क्षेत्रको पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत् संरचनासमेत क्षतिग्रस्त भएका छन्। स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूलीको अवस्था पनि उत्तिकै भयावह छ। बजारका घर, होटल, पसल, प्रहरी चौकी र मुख्य सडकमा ठूलो क्षति पुगेको छ। कतिपय संरचना भएको ठाउँमा अहिले बगर मात्र बाँकी छ।
रसुवाको टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, मैलुङ, हाकुबेँसी, शान्तिबजार, पैरेबेँसी, नुवाकोटको बेत्रावती, सल्लेटार, खाल्टी, सोले, त्रिशूली र बट्टार हुँदै धादिङको गल्छी, गजुरी, मलेखु तथा चितवनको मुग्लिन र देवघाट आसपासका बस्तीहरूमा ठूलो क्षति पुर्यायो। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, हामीले विकास गर्दा नदी, पहिरो, हिमताल र जलवायुजन्य जोखिमलाई कति गम्भीरतापूर्वक बुझेका थियौँ?
विपत्तिको अँध्यारोमा पनि हामीलाई गिज्याइरहेका केही भयावह दृश्यहरू
बाढीपछि सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियोमा नदीले बगाएर ल्याएको शवबाट दुई व्यक्तिले कानमा रहेको सुनको मुन्द्रा निकालिरहेको भिडियो भाइरल भयो। उक्त भिडियोका आधारमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कानुनी अनुसन्धान आफ्नो ठाउँमा छ। दोष प्रमाणित गर्ने काम अदालतको हो। तर घटनाले उठाएको सामाजिक प्रश्न अदालतको फैसलाभन्दा पनि गहिरो छ।
यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, हामीले विकास गर्दा नदी, पहिरो, हिमताल र जलवायुजन्य जोखिमलाई कति गम्भीरतापूर्वक बुझेका थियौँ?
ज्यान बचाउनुपर्ने यो विपत्को अवस्थामा मृत शरीरबाट गहना निकाल्ने मानसिकता कहाँबाट आउँछ? मृत्यु स्वयं एउटा अन्तिम अवस्था हो। मृतकले आफ्नो रक्षा गर्न सक्दैन। आफ्नो सम्पत्ति जोगाउन सक्दैन। आफ्नो परिवारलाई खबर गर्न सक्दैन। त्यस अवस्थामा उसको शवमाथि पनि स्वार्थ राख्नु भनेको केवल चोरी गर्नु होइन।
यो मानवीय मर्यादामाथिको आक्रमण हो। तर यसलाई आधार बनाएर सिंगो समाज नै अमानवीय भयो भन्नु पनि गलत हुन्छ। दुई व्यक्तिको कथित अपराधलाई करोडौँ मानिसको चरित्रसँग जोड्न मिल्दैन। तर यस्तो घटनाले हाम्रो समाजभित्र रहेका नैतिक विचलनका खतरनाक संकेत भने दिएको छ।
ग्यासको सिलिन्डरका लागि उर्लिएको भीड : अभाव कि लोभ?
चितवन क्षेत्रमा बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर, काठ, दाउरा र अन्य सामग्री टिप्न मानिसहरू जोखिमपूर्ण ढंगले नदी किनारमा पुगेका दृश्य पनि देखिए। मानिसहरू तीव्र बहावमा समेत सामग्री संकलन गर्न पुगेको र प्रशासनले पटक–पटक नदीमा नजान चेतावनी दिएको थियो। यस दृश्यलाई केवल ‘लोभ’ भनेर व्याख्या गर्नु सजिलो छ। तर वास्तविकता त्यसभन्दा जटिल हुन सक्छ। एकातिर आवश्यकता र अभाव छ।
अर्कोतिर अवसर देखेर सम्पत्ति हत्याउने मानसिकता पनि हुन सक्छ। यदि कुनै परिवारले खाना पकाउने साधन नहुँदा बाढीले बगाएर ल्याएको सिलिन्डर उठायो भने त्यसलाई अपराधी मनोविज्ञान मात्र भनेर व्याख्या गर्न सकिँदैन। तर नदीको तीव्र बहावमा ज्यान जोखिममा राखेर अरूको सम्पत्ति कब्जा गर्न तँछाडमछाड गर्नु भने फरक सामाजिक समस्या हो। प्रशासनले बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायत सामग्री सुरक्षा निकायलाई बुझाउन आग्रह गरेको छ।
विपद् देखिएको मानवीय विरोधाभास
एउटै बाढीमा कसैले शवबाट गहना निकाल्छ। एउटै बाढीमा कसैले अपरिचित व्यक्तिको शव किनारमा तान्न नदीमा पस्छ। कसैले बग्दै गरेको सामान समात्न ज्यान जोखिममा राख्छ। कसैले आफ्नो घर गुमाएर पनि छिमेकीलाई बचाउँछ। कसैले विपद्लाई कमाइको अवसर देख्छ। कसैले आफ्नो छाक काटेर अपरिचितलाई बचाउँछ। यस अर्थमा विपद् मानिसलाई अमानवीय बनाउने शक्ति मात्र होइन, मानिसभित्र लुकेको मानवतालाई उजागर गर्ने ऐना पनि हो।
भोटेकोशी बाढीपछि सुरक्षा निकाय, स्थानीय बासिन्दा र स्वयंसेवकहरू शव खोजी, उद्धार र राहतमा खटिएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू ज्यान दाउमा राखेर तत्परतापूर्वक शव खोजी, उद्धार र राहतमा खटिएका छन्। त्यसैले सामाजिक सञ्जालमा देखिएका केही अमानवीय दृश्यले हामीलाई निराश बनाए पनि त्यसै समयमा हजारौँ मानिसले गरेको निस्वार्थ योगदानको कदर गर्नुपर्छ।
विपद् अवसर खोज्ने मानसिकता
सामान्य अवस्थामा चोरी गर्न सामाजिक नियन्त्रण, कानुन र नैतिकताले रोक्छ। तर विपद्को समयमा निगरानी कमजोर हुन्छ। यस्तो अवस्थामा जो व्यक्तिले ‘अहिले जसले जे उठायो, मेरो’ भन्ने मानसिकता विकास गर्छ, त्यस्ता व्यक्तिलाई समाजशास्त्रमा नैतिक नियन्त्रण कमजोर भएको अवस्थाका रूपमा हेरिन्छ।
सामाजिक सञ्जालको ‘भ्युज संस्कृति’
मृत शरीरमा पनि अब ‘कन्टेन्ट’ देख्ने समय आएको छ। पीडित परिवारको आँसु र शोकभन्दा लाइक, सेयर र भ्युज ठूलो बन्न थालेको देखिन्छ। बाढीले घर, परिवार र जीवन बगायो, तर हाम्रो संवेदनशीलता पनि सँगै बग्यो कि भन्ने प्रश्न उठ्न थालेको छ। पीडितको सारथी बन्नुपर्ने समाजमा कसैको पीडालाई भाइरल बनाउने होड चलिरहेको किन?
प्रशासनले समेत बाढीमा भेटिएका शवका विभत्स दृश्य सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरिरहेको छ, तर दुःखको कुरा, केहीका लागि मानवीय पीडा पनि ‘भ्युज’ कमाउने माध्यम बनेको छ। आखिर प्रश्न यही छ—‘हामी विपत्तिमा मानिस खोजिरहेका छौँ कि कन्टेन्ट?’ मृत्यु कसैको कन्टेन्ट होइन।
भीडको मनोविज्ञान
एक्लै हुँदा जोखिम देख्ने मानिस भीडमा पुगेपछि त्यही जोखिमलाई ‘केही हुँदैन’ भनेर सामान्य ठान्न थाल्छ। अरू नदीमा पसेको देखेपछि आफू पनि पस्ने, अरूले भिडियो खिचेको देखेपछि आफू पनि मोबाइल निकाल्ने- मानौँ विपद् होइन, कुनै मनोरञ्जनको कार्यक्रम हो। प्रशासनले ‘नदीमा नजानुहोस्’ भनेर सूचना दिन्छ।
चेतावनी सतर्कता हो, तर विवेक स्वयं व्यक्तिको व्यवहारमा देखिनुपर्छ। अझ विडम्बना त के भने, बाढीले मानिस बगाइरहेको हुन्छ, हामीचाहिँ त्यसको भिडियो खिच्न सुरक्षित ठाउँ खोजिरहेका हुन्छौँ। यस्तो अवस्थामा प्रश्न प्रशासनको तयारीमात्र होइन, हाम्रो नागरिक चेतना र नैतिकतामाथि पनि उठेको छ।
दण्डहीनताको अनुभूति
‘केही हुँदैन’, ‘कसले देखेको छ र?’ भन्ने मानसिकता बलियो हुँदै गयो भने संकटमा नैतिक सीमा अझ कमजोर हुन्छ। शवबाट गहना निकाल्ने आरोपमा पक्राउ हुनु त्यसैले महत्त्वपूर्ण सन्देश हो। विपद् कानुनविहीन अवस्था होइन।
प्रश्न त अनेक छन्—जोखिम न्यूनीकरण किन प्रभावकारी हुन सकेन, पूर्वसूचना प्रणाली कहाँ चुक्यो, राज्यको तयारी र प्रभावकारिता कति पर्याप्त थियो? जलवायु परिवर्तनले जोखिम न्यूनीकरणमा राज्यको प्रयास के छ? यी सबै प्रश्नको उत्तर खोज्नैपर्छ। तर अहिलेको समय दोष र बहसमा अल्झिनेभन्दा सहयोग, उद्धार र क्षति न्यूनीकरणमा केन्द्रित हुने समय हो।
विपद्का कारण उत्पन्न यस भयावह परिस्थितिको गहिरो विश्लेषण, कमजोरीको पहिचान र जवाफदेहिताका प्रश्नलाई भने भविष्यमा थप गम्भीरतापूर्वक केलाउनुपर्छ। यी प्रश्नको उत्तर नखोजी केवल ‘प्रकृतिको विपत्ति’ वा ‘मानिसको संवेदना हरायो’ भनेर विषय टुंग्याउनु अधुरो विश्लेषण हुन सक्छ। किनकि विपद्को क्षति प्राकृतिक घटनाले मात्र होइन, पूर्वतयारी, राज्यको क्षमता, पूर्वाधार, सूचना प्रणाली, नीति, नागरिक चेतना र जवाफदेहिताको कमजोरीले पनि निर्धारण गर्छ।
अब हामीले कस्तो समाज बनाउने?
यस विपद्ले हामीलाई फरक दुई तस्वीर देखाएको छ। मृतकको सम्पत्तिसमेत लुट्ने अमानवीय प्रवृत्ति र आफ्नो ज्यान जोखिममा राखेर अपरिचितको शव खोज्ने मानवीय साहस- एउटा तस्वीरले लोभ र नैतिक पतन देखाउँछ भने अर्कोले सहयोग र मानवताको भावलाई उजागर गरेको छ। त्यसैले प्रश्न नेपाली समाज अमानवीय भयो कि भएन भन्ने होइन।
प्रश्न यो हो कि संकटमा हामी कुन प्रवृत्तिलाई बलियो बनाउँदैछौँ? लोभलाई कि सहयोगलाई, अफवाहलाई कि सत्यलाई, भ्युजलाई कि संवेदनशीलतालाई?
प्राकृतिक विपद् रोक्न सधैँ हाम्रो हातमा नहुन सक्छ, तर विपद्पछि हाम्रो व्यवहार भने हाम्रो हातमा हुन्छ। मृतकको सम्मान, पीडितको सम्पत्तिको सुरक्षा, उद्धारमा सहयोग र सूचनामा सत्यता सभ्य समाजका न्यूनतम आधार हुन्। भोटेकोशीले धेरै कुरा बगायो, जुन हृदयविदारक पीडाको अवस्था हो। तर यो कठिन घडीमा अब हाम्रो मानवता पनि बग्न नदिने जिम्मेवारी हाम्रो हो।
.gif)

.png)

