भारतबाट चौथो पटक आयो राहत सामग्री, सामग्रीसँगै सुरुङ प्राविधिक र फोरेन्सिक टोली पनि
११ टन राहत सामग्री बोकेको भारतको चौथो उडान नेपाल आइपुगेको छ।
काठमाडौं : रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई थप राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ। भारतको विदेश मन्त्रालयका अनुसार ११ टन राहत सामग्री बोकेको भारतको चौथो उडान नेपाल आइपुगेको छ।
उक्त राहत सामग्री नेपाललाई हस्तान्तरणसमेत गरिएको मन्त्रालयले जनाएको छ। चौथो चरणमा भारतले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ प्राविधिक टोली पनि पठाएको छ।
त्यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए विश्लेषण गर्न फोरेन्सिक विशेषज्ञहरूको टोली समेत नेपाल पठाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किट लगायतका सामग्री छन्। यसैबीच, थप २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक पनि नेपाल आइपुगेका छन्।

भारतले थप सातवटा बेली ब्रिज स्थापना गर्न आवश्यक उपकरणसमेत छिट्टै उपलब्ध गराउने जनाएको छ। ती पुल स्थापनाका लागि आवश्यक प्राविधिक टोलीहरू पनि नेपाल पठाइने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतले यसअघि पनि बाढी प्रभावित क्षेत्रको खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको छ। पछिल्लो सहयोगले प्रभावित क्षेत्रमा उद्धार, शव पहिचान तथा आवागमन पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
.gif)

.png)

