७३४ जनाको मृत्यु, २ हजार ४९८ जना सम्पर्कविहीन
झण्डै २० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं : तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीमा परी २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन्।
त्यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना, विदेशी नागरिक ५९८ जना, विदेशी पर्यटकसँगै यात्रा गरिरहेका १२७ जना नेपाली नागरिक तथा लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी २४२ जना घाइते भएका छन्। घाइते तथा प्रभावितको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल तथा मेडिकल टोली परिचालन गरिएको छ।
८ हजारभन्दा बढीको उद्धार
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनाको उद्धार गरेका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनालाई पनि हेलिकप्टरबाट उद्धार गरिएको छ। भदौ १२ गते १९१ र भदौ १३ गते ८८ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, हालसम्म २२७ जना विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
झण्डै २० हजार सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि आइतबार १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्। बाढीपछि बेपत्ता भएका नागरिकको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

