आज देशभर वर्षाको सम्भावना, रसुवा-नुवाकोट-धादिङमा राति भारी वर्षाको जोखिम
कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशका अधिकांश स्थानमा आज (भदौ १३) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा ‘धेरै भारी’सम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार ती जिल्लामा रातिको समयमा वर्षाको गतिविधि अझ बढ्न सक्छ। ‘दिउँसोको समयमा ती क्षेत्रहरूमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिको समयमा अझ वर्षाको सम्भावना बढ्नेजस्तो देखिन्छ,’ उनले भनिन्।
उनका अनुसार रसुवा, नुवाकोट र धादिङका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने सम्भावना छ। यद्यपि धेरै स्थानमा नभई छुट्टाछुट्टै स्थानमा मात्र भारी वर्षा हुने अनुमान गरिएको छ। वाग्मती प्रदेशमा सिन्धुपाल्चोकमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको महर्जनले बताइन्।
कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। आज राति भने कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा ‘धेरै भारी’ वर्षाको समेत सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्।
उनका अनुसार पश्चिमी भूभागका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्छ भने एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावनासमेत रहेको छ।महाशाखाका अनुसार मनसुनको गतिविधि पुनः केही सक्रिय भएको छ। बिहीबारको तुलनामा आज वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
मौसमविद् महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदरभन्दा माथि र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। मनसुनको गतिविधि बढेसँगै आज र भोलि देशका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
.gif)

.png)

