सडक सञ्जालसँग पुनः जोडियो रसुवा

धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु


२०८३ भदौ १३ शनिबार ०७:५५ बजे

भक्तपुर :  रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण धुन्चेमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई वैकल्पिक सडकमार्ग प्रयोग गरी काठमाडौं उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। उद्धार तथा यात्रु व्यवस्थापनका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका छन्।

मुख्यमन्त्री थापाका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई खाना खुवाउने व्यवस्था प्रदेश सरकारले गरेको छ। खाना खुवाइसकेपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्‍याउने र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्‍याउने व्यवस्था मिलाइएको छ। चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउने व्यवस्था गरिएको उनले बताए।

‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्‍याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउने कार्य गरेका छौँ,’ मुख्यमन्त्री थापाले भने।

उद्धारको पर्खाइमा रहेका यात्रुलाई काठमाडौंसम्म ल्याउन प्रदेश सरकारले निःशुल्क बसको समेत व्यवस्था गरेको उनले बताए। धुन्चेसँगै चौगटीमा पनि सर्वसाधारणका लागि प्रदेश सरकारले खानाको व्यवस्था गरेको मुख्यमन्त्री थापाले जानकारी दिए।

यसैगरी त्रिशूलीपारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास पनि सुरु गरिएको प्रदेश सरकारले जनाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई काठमाडौं आउन वैकल्पिक मार्ग उपलब्ध हुने जनाइएको छ।

सडक सञ्जालसँग पुनः जोडियो रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जालसमेत पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खारपुल–आप्री–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सडक सुचारु गरिएको हो।

सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। साथै धुन्चेलगायतका क्षेत्रमा अलपत्र यात्रु तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा ल्याउनसमेत सडक सञ्चालनले सहयोग पुग्ने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७