भोटेकोशी बाढीमा छोरा बेपत्ता भएको शोकमा डुबेकी आमाको मृत्यु


२०८३ भदौ २८ आइतबार १५:५९ बजे

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीमा छोरा बेपत्ता भएपछि शोकमा डुबेकी एक आमाको पनि केही दिनमै मृत्यु भएको छ। उमाकुण्ड गाउँपालिका–१, गुम्देलकी ५८ वर्षीया डोल्मा याङ्जी शेर्पाको शव पाँच दिनको खोजीपछि घरबाट निकै टाढाको खोलामा फेला परेको हो। 

डोल्माका छोरा ङिमा शेर्पा गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका थिए। रसुवास्थित एक जलविद्युत् आयोजनाको परिसरमा काम गरिरहेका बेला उनी बाढीमा परेका थिए। सोही आयोजनामा कार्यरत उनका दाजु दोर्जे भाइ बेपत्ता भएपछि खोजीमा जुटेका थिए। छोरा भेटिने आशामा डोल्मा काठमाडौँ पुगेकी थिइन्। तर, कम्पनीले ङिमा जीवित भेटिने सम्भावना न्यून रहेको जानकारी दिएपछि उनी निराश हुँदै घर फर्किएकी थिइन्।

छोराको मृत्युको खबरले गहिरो शोकमा परेकी डोल्माले परिवारसँग छोराको अन्तिम संस्कारका विषयमा समेत छलफल गरेकी थिइन्। भदौ १६ गते रातिसम्म परिवारसँगै रहेकी डोल्मा त्यसपछि घरबाट बाहिरिइन्। उनले लगाएका सबै गरगहना घरमै छाडेकी थिइन्। राति टर्चको सहारामा घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा आइनन्। भोलिपल्ट बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए। पाँच दिनसम्म खोजी गर्दा पनि फेला नपरेकी डोल्माको शव अन्ततः आफू बस्दै आएको स्थानभन्दा टाढाको खोलामा भेटिएको हो। 

डोल्मा लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१, किन्जामा बस्दै आएकी थिइन्। खोलामा शव भेटिएपछि पोस्टमार्टमका लागि सदरमुकाम सल्लेरी लगिएको थियो। पोस्टमार्टमपछि सल्लेरीमै शेर्पा परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए। केही दिनको अन्तरालमा एउटै परिवारले बेहोरेको यो दोहोरो वियोगले आफन्त र स्थानीयलाई स्तब्ध बनाएको छ। बाढीमा छोरा बेपत्ता भएपछि शोकमा डुबेकी आमाको समेत मृत्यु भएपछि परिवार अपूरणीय क्षतिमा परेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७