बाढीले मृत्यु भएको महिलाको शवबाट सुन चोरीको आरोपमा पाँच जना पक्राउ


२०८३ भदौ २८ आइतबार १७:४३ बजे

नुवाकोट : भोटेकोशी बाढीमा परी मृत्यु भएकी महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा नुवाकोट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका–३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल रहेका छन्। उनीहरूलाई प्रहरीले भदौ २४ गते सिर्खालीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी एक्वाल हवारीका अनुसार पक्राउ परेका पाँचै जनामाथि महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई पहिलोपटक जिल्ला अदालत नुवाकोटबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो। दोस्रोपटक म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकालाई छुटाउन नेपाली कांग्रेस र नेकपा एमालेका केही स्थानीय नेताले प्रशासन तथा प्रहरीमाथि दबाब दिएको बुझिएको छ। पक्राउ परेकामध्ये केही ती दलका स्थानीय नेताका परिवारका सदस्य रहेको स्रोतको दाबी छ। प्रहरीले भने अनुसन्धान र कानुनी कारबाहीमा बाह्य दबाबले असर नपर्ने जनाएको छ। 

भोटेकोशी बाढीपछि मृतकका शवबाट गहना चोरी भएको यो पहिलो घटना भने होइन। यसअघि शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क क्षेत्रबाट मदन गुरुङ र उमेश चौधरी पक्राउ परेका थिए। नदी किनारमा अड्किएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसकै आधारमा अनुसन्धान अघि बढाएको जनाएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७