विमानस्थलमा भन्सार छली ल्याइएका ७२ लाखका मोबाइल र ल्यापटप बरामद
सामानसहित एक चिनियाँ नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप तथा पार्टपुर्जा र सूर्तीजन्य पदार्थ बरामद गरिएको छ। प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई समेत पक्राउ गरेको छ। चीनको ग्वाङडोङ निवासी २९ वर्षीय चेन जुनसानलाई भन्सार छली गरी ल्याइएका विभिन्न सामग्रीसहित नियन्त्रणमा लिइएको हो। चीनबाट चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका उनी विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, ल्यापटपको डिस्प्ले कभर र सूर्तीजन्य पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीको प्रारम्भिक मूल्य करिब ७२ लाख २५ हजार रुपैयाँ रहेको छ। बरामद सामग्रीसहित चेनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

बरामद सामग्रीमा iPhone 17 Pro सात थान, iPhone 14 पाँच थान, iPhone 15 दुई थान, iPhone 15 Pro दुई थान तथा iPhone 15 Pro Max र iPhone 16 Pro Max एक–एक थान रहेका छन्। यस्तै, iPhone 17 Pro Max 256 GB को प्रयोग भएको एउटा मोबाइल, विभिन्न iPhone का हाउजिङ तथा ब्याट्रीसमेत बरामद भएको छ। त्यसैगरी HP का पाँच थान ल्यापटप, Dell का तीन थान डिस्प्ले कभर, मोबाइल डिस्प्लेका २६५ थान र मोबाइलको अगाडि–पछाडिको हाउजिङका २५७ थान बरामद गरिएको छ। प्रहरीका अनुसार NANJING ब्रान्डका २४ बन्डल र PRIDE ब्रान्डका दुई बन्डल चुरोटसमेत फेला परेको छ।
.gif)

.png)

