३ वर्षीया बालिका बलात्कार र हत्या प्रकरणमा प्रहरीकै भूमिकामाथि प्रश्न

आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी हवलदार पक्राउ


२०८३ भदौ ८ सोमबार १५:४२ बजे

जनकपुरधाम : बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक छन्। उनलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ। विकमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

आरोपीमाथि अनुसन्धान चलिरहेका बेला प्रहरीको प्रोटोकलविपरीत बयानको भिडियो खिचिएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएको छ। घटनासँगै अनुसन्धानको संवेदनशील विषयको भिडियो कसरी बाहिरियो भन्नेबारे प्रहरीमाथि प्रश्न उठेको छ। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि समेत छानबिन सुरु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले उनीहरूको भूमिकाबारे अनुसन्धान थालेका हुन्।

स्रोतका अनुसार भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। पक्राउ परेका हवलदारबाहेक अन्य प्रहरीको भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा रहेको घटनामा आरोपीको बयानजस्तो संवेदनशील सामग्री सार्वजनिक हुनु प्रहरीको कार्यप्रणाली र गोपनीयतामाथि गम्भीर प्रश्नका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७