कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिँदै

बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक


२०८३ भदौ ८ सोमबार ०८:५९ बजे

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

मुख्यमन्त्रीका रूपमा कार्कीले विश्वासको मत लिन लागेको यो तेस्रोपटक हो। कार्की २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि उनले वैशाख ३१ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन परिवर्तन भई कांग्रेससँग नयाँ गठबन्धन बनेपछि उनले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

हाल ९२ सदस्य कायम रहेको कोशी प्रदेशसभामा सरकारलाई बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद छन्। यसबीच एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन भइसकेको छ। पुनर्गठित सरकारका नयाँ मन्त्रीहरूले गत सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए।

अब मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ सांसदको समर्थन जुटाउनुपर्नेछ। आजको मतदानले कोशी प्रदेश सरकारको आगामी राजनीतिक समीकरणसमेत स्पष्ट गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७