बागमतीका मुख्यमन्त्री किरण थापा मगरले लिए पद तथा गोपनीयताको शपथ, ६ मन्त्री नियुक्त
किरण थापामगरसहित बागमतीमा ७ सदस्यीय मन्त्रिपरिषद्, दुई मन्त्रालय अझै खाली
हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापालाई एमाले, नेकपा र राप्रपाका ६३ प्रदेशसभा सदस्यको समर्थन छ।
थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदले समर्थन गरेका छन्। एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङ बिनाविभागीय मन्त्री नियुक्त भएका छन्। तामाङले मन्त्रालय बाँडफाँटपछि जिम्मेवारी पाउनेछन्। नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन्। नेकपाले पाएको अर्को मन्त्रालयमा पछि मन्त्री नियुक्त गरिने जनाइएको छ।
यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिकमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्। राप्रपाबाट मन्त्री बनेका नेतामाथि पार्टीले भने अनुशासनको कारबाही प्रक्रिया अघि बढाएको छ। आठ मन्त्रालय रहेको बागमतीमा कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।
.gif)

.png)

