सीमा नाकामा चेकजाँच गर्दा १५ किलोभन्दा बढी चरेस–अफिम बरामद, पाँच महिला पक्राउ


२०८३ भदौ ८ सोमबार ०८:४३ बजे

कपिलवस्तु : भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा अवैध लागूऔषध चरेस र अफिमसहित पाँच महिलालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कबाट आइतबार साँझ भारततर्फ जाँदै गरेका पाँच महिलालाई रोकेर चेकजाँच गर्दा तीन जनाको साथबाट १५ किलोभन्दा बढी लागूऔषध बरामद भएको हो।

दाङको राप्ती गाउँपालिका–३ मसुरिया बस्ने ३४ वर्षीया रति रामाले कम्मरमा कपडाले बेरेर लुकाइछिपाइ लैजान लागेको अवस्थामा चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो २२५ ग्राम बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए। त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगर बस्ने ४५ वर्षीया पिनीसराको साथबाट अफिमजस्तो देखिने ५ किलो गिलो पदार्थ बरामद भएको छ। सोही स्थानकी ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट पनि थप ५ किलो अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूसँगै दाङको राप्ती गाउँपालिका–३ मसुरियाकी ४३ वर्षीया विमला पुन र पर्साको ठोरी गाउँपालिका–२ टाउन प्लान घर भई हाल विजयनगर–४ ज्योतिनगर बस्ने ४८ वर्षीया चुमामामी लामिछानेलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले बरामद पदार्थको परीक्षणसँगै लागूऔषध कहाँबाट ल्याइएको, भारततर्फ कसरी लैजान लागिएको तथा घटनामा अन्य व्यक्ति वा सम्भावित सञ्जालको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७