बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ
लमजुङ : नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।
एमाले जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा आवश्यक पुनर्गठन गर्नुपर्ने बताएका हुन्।
उनले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढंगले परिचालन गर्नुपर्नेमा जोड दिए। बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
पार्टीका गतिविधिलाई जनताका समस्या र आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्ने बताउँदै गुरुङले एमालेले जनताको अपेक्षाअनुसार आफूलाई निरन्तर परिवर्तन गर्दै लैजानुपर्ने धारणा राखे।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताए। पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताए।
उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए। एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्ने बताए। पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने उनीहरूको भनाइ थियो।
जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रम, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा बैठकलाई जानकारी गराएका थिए।
.gif)

.png)

