निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव
काठमाडौं : दिवंगत आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को सम्मानमा अन्नपूर्ण हिमालको नाम परिवर्तन गरी ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव तयार भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले तयार पारेको प्रस्ताव चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।
पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने आफ्नो ‘प्रोजेक्ट पसिबल’ अभियानको सुरुवात अन्नपूर्ण हिमालबाट गरेका थिए। यही योगदानको सम्मान र स्मरणमा हिमालको नाममा ‘निम्स दाइ’ जोड्न प्रस्ताव गरिएको अध्यक्ष पुनले बताए।
गाउँपालिकाले पुर्जाको सालिक र संग्रहालय निर्माणको योजना पनि अघि सारेको छ। परिवारले जग्गा उपलब्ध गराए त्यही स्थानमा, नभए रुप्से झरना क्षेत्रमा संग्रहालय बनाउने तयारी छ। त्यसो पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय स्थापना गर्ने विकल्प राखिएको छ।
यस्तै, अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा पुर्जाको नामसमेत जोड्ने विषयमा छलफल भइरहेको छ। उक्त पदमार्गको नाम पहिलोपटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली आरोही मौरिस हर्जोगको सम्मानमा राखिएको हो।
गाउँपालिका अध्यक्ष पुनले पुर्जाले म्याग्दी, नेपाल र नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनको योगदानको सम्मानमा राज्यस्तरबाट विशेष पहल हुनुपर्ने बताए।
.gif)

.png)

