बञ्चरेडाँडाका स्थानीय आन्दोलनमा, १५ दिनभित्र माग पूरा नभए विसर्जन ठप्प पार्ने घोषणा


२०८३ भदौ ६ शनिबार ०९:२५ बजे

काठमाडौं : बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी एक घण्टा रोकेर आन्दोलन थालेका छन्। फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिएको र विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।

सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार स्थानीयले बिहीबार बिहान एक घण्टा फोहोर बोकेका गाडी रोकेका थिए। माग सम्बोधनका लागि १५ दिनको समय दिइएको र त्यस अवधिमा माग पूरा नभए फोहोर विसर्जनमै रोक लगाउने उनले बताए।

स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने, फोहोरबाट निस्कने लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा स्थानीयको स्वास्थ्य, शिक्षा र रोजगारीको विशेष व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

बञ्चरेडाँडाको लिच्चेड खोलामा मिसिएको र कुहिने तथा नकुहिने फोहोर नछुट्याउँदा ल्यान्डफिल साइटमा समस्या बढेको स्थानीयको भनाइ छ।

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ। २० वर्षका लागि निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अहिले फोहोरको चुली लागिसकेको स्थानीय बताउँछन्।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाँडामा चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। त्यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो।

फोहोरका कारण क्यान्सर, मुटु, मिर्गौला, श्वासप्रश्वास तथा छालासम्बन्धी रोग बढेको स्थानीयको गुनासो छ। फोहोर व्यवस्थापनका कारण कृषि उत्पादन तथा पशुपन्छी पालनमा समेत असर परेको उनीहरूको दाबी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७