निम्स दाइसहित ५ नेपाली आरोहीको शव सनाखत
काठमाडाैं : पाकिस्तानको ब्रड पिकमा गएको विनाशकारी हिमपहिरोमा बेपत्ता भएका १० आरोहीमध्ये ७ जनाको शव उद्धारकर्ताले फेला पारेका छन्। आइतबार अपराह्नसम्मको विवरणअनुसार विश्वप्रख्यात नेपालीमूलका आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित हराइरहेका सात जनाको शव फेला परेको हो।
बिहीबार साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा करिब ६,६०० मिटरको उचाइमा हिमपहिरो जाँदा १० जना आरोही बेपत्ता भएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा झारिसकिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अन्य शवहरूको उद्धारका लागि प्रयास जारी रहेको उल्लेख गरिएको छ।
प्राप्त जानकारीअनुसार निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा ‘किलु’ र निमा शेर्पाको शव पनि उद्धारकर्ताले फेला पारेर क्याम्प–१ तर्फ ल्याइरहेका छन्। घटनास्थलमा थप एउटा शव फेला परे पनि त्यसको सनाखत हुन बाँकी छ।
हराइरहेका नेपाली आरोही नवाङ थिन्डु शेर्पाको अवस्था अझै अज्ञात छ। त्यस्तै पाकिस्तानका सोहेल साखी र अमेरिकाका म्यालोरी गेइस पनि अझै सम्पर्कविहीन छन्।ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने फेला परिसकेको छ।
परराष्ट्र मन्त्रालयले नेपाली आरोहीहरूको शव स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको जनाएको छ।
.gif)

.png)

