आरोही निम्स दाइ: हिमाल आरोहणबाट विश्वमा नेपाल चिनाए, अन्ततः हिमालमै बिलाए


२०८३ श्रावण १६ शनिबार १७:५२ बजे

काठमाडौं : विश्व पर्वतारोहणको इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसले स्थापित मान्यतालाई चुनौती दिँदै नयाँ इतिहास निर्माण गरेका छन्। त्यस्तै असाधारण नाम हो, नेपाली पर्वतारोही ।

पूर्व ब्रिटिस गोर्खा सैनिक तथा बेलायतको विशेष सैन्य इकाइ स्पेसल बोट सर्भिस (एसबीएस) का कमाण्डो पुर्जाले असम्भव मानिएका आरोहण अभियान पूरा गर्दै आधुनिक पर्वतारोहणमा नयाँ मापदण्ड स्थापित गरेका थिए।

म्याग्दीको सामान्य परिवारबाट सुरु भएको उनको यात्रा विश्वका सबैभन्दा अग्ला हिमालका चुचुरोसम्म पुग्यो। यो केवल सफल आरोहीको कथा थिएन, यो दृढ संकल्प, अनुशासन, साहस र नेतृत्व क्षमताको अनुपम उदाहरण थियो। तर विश्व पर्वतारोहणका यही महान् योद्धाको यात्रा पाकिस्तानको काराकोरम हिमशृङ्खलामा पर्ने ब्रोड पिक हिमालमा आएको हिमपहिरोसँगै रोकिएको छ। आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको छ।

निर्मल पुर्जा अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा आठहजारे हिमाल दुईपटक आरोहण गर्ने ऐतिहासिक लक्ष्यसहित ब्रोड पिक आरोहणमा थिए। मात्रै बाँकी रहने थियो चो ओयु,  यदि यो अभियान सफल भएको भए उनी इतिहासमा अक्सिजनबिना विश्वका १४ वटा आठहजारे हिमाल दुईपटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने थिए।

ब्रोड पिक आरोहणअघि उनले सामाजिक सञ्जालमा आफ्नो अभियानबारे लेखेका थिए, 'यदि ब्रड पिक सफलतापूर्वक आरोहण गर्न सकेँ भने अब बाँकी रहने एउटै हिमाल हुनेछ, चो ओयु। त्यसपछि म अक्सिजनको प्रयोग नगरी विश्वका सबै १४ वटा आठहजारे हिमाल दुईपटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।' उनको त्यो सपना अधुरै रह्यो, तर उनले बनाएको इतिहास भने अमर बनेको छ।

गोर्खा सैनिकदेखि विश्व आरोहीसम्म

सन् १९८३ मा म्याग्दीमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल सामान्य परिवेशमा बित्यो। हजारौं नेपाली युवाजस्तै उनको सपना पनि ब्रिटिस गोर्खा सैनिक बन्ने थियो। १८ वर्षको उमेरमा सन् २००३ मा गोर्खा सैनिक बनेका उनले १६ वर्ष सैनिक जीवन बिताए। त्यसक्रममा उनले ६ वर्ष गोर्खा र १० वर्ष बेलायतको प्रतिष्ठित विशेष सैन्य इकाइ स्पेसल बोट सर्भिस (एसबीएस) मा सेवा गरे।

एसबीएस विश्वकै कठिन र उत्कृष्ट विशेष सैन्य बलमध्ये एक मानिन्छ। सैनिक जीवनमा सिकेको अनुशासन, मानसिक दृढता र शारीरिक क्षमताले नै उनलाई विश्वस्तरीय पर्वतारोही बन्न बलियो आधार प्रदान गर्‍यो।

सन् २०१९ मा सुरु गरिएको उनको चर्चित अभियान ‘प्रोजेक्ट पोसिबल’ ले विश्व पर्वतारोहणको इतिहास नै परिवर्तन गर्‍यो। विश्वका १४ वटा आठहजारे हिमाल आरोहण गर्न धेरै आरोहीलाई वर्षौं लाग्ने अवस्थामा पुर्जाले केवल ६ महिना ६ दिनमा यो उपलब्धि हासिल गरे। यो केवल गति र कीर्तिमानको विषय थिएन। यो योजना, नेतृत्व, जोखिम व्यवस्थापन, आत्मविश्वास र असाधारण इच्छाशक्तिको परिणाम थियो।

निर्मल पुर्जाको परिचय केवल कीर्तिमानी आरोहीका रूपमा सीमित थिएन। हिमालमा संकटमा परेका धेरै आरोहीका लागि उनी उद्धारकर्ता बने।आफ्नो ज्यानको पर्वाह नगरी उनले कठिन परिस्थितिमा धेरै आरोहीको उद्धार गरे। अरूले सम्भावना नदेखेका ठाउँमा उनले साहस देखाए।त्यसैले आज विश्वभरका पर्वतारोही र शुभेच्छुकहरूले उनलाई केवल एक आरोही होइन, साहस र मानवताको प्रतीकका रूपमा सम्झिरहेका छन्।

नेटफ्लिक्सदेखि विश्वको प्रेरणासम्म

उनको जीवनयात्रा नेटफ्लिक्सको चर्चित वृत्तचित्र १४ पिक्स: नथिङ इज इम्पसिबल’ मार्फत विश्वभर पुगेको थियो। एक नेपाली गोर्खा सैनिक कसरी विश्व पर्वतारोहणको इतिहास बदल्ने व्यक्तित्व बने भन्ने कथा करोडौं दर्शकले हेरे।

तर निम्स दाइको वास्तविक जीवन कुनै चलचित्रभन्दा कम थिएन। उनको कथा थियो—सीमाभन्दा माथि उठ्ने साहसको, असम्भवलाई चुनौती दिने आत्मविश्वासको।आज ब्रोड पिकको हिमालमा एउटा महान् यात्रा रोकिएको छ। तर निर्मल पुर्जाले देखाएको बाटो, बनाएको कीर्तिमान र दिएको प्रेरणा कहिल्यै समाप्त हुनेछैन।

निम्स पुर्जा केवल एउटा नाम होइनन्। उनी नेपाली साहस, दृढता र सम्भावनाको प्रतीक हुन्।उनले संसारलाई सिकाएका थिए, 'असम्भव भन्ने शब्द केवल मनमा हुन्छ।'  आज विश्वले त्यही साहसी नेपाली योद्धालाई श्रद्धाञ्जली दिइरहेको छ, जसले जीवनभर मानिसहरूलाई आफ्ना सपनाको शिखरसम्म पुग्न प्रेरणा दिए।

 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७