यो ओली-प्रचण्डहरूको अन्त्यको समय हो, वामपन्थको होइन: झलक सुवेदी (पोडकाष्ट)
‘नेपाली समाजको वर्गीय अवस्था र बदलिँदो विश्व व्यवस्थाले नेपालमा वामपन्थ फेरि उठ्ने आधार दिन्छ’
झलक सुवेदीको पछिल्लो परिचय हो, राजनीतिक बिश्लेषक । नेपाली राजनीतिका प्रवृत्ति, अन्तरविरोध र सम्भावनालाई गहिराइबाट नियाल्दै निरन्तर लेखिरहेका सुवेदी पछिल्लो समय राजनीतिक विश्लेषकका रूपमा स्थापित नाम हुन्। समकालीन नेपाली राजनीतिबारे उनको विश्लेषणमा तत्कालीन घटनाभन्दा पर पुगेर त्यसका ऐतिहासिक, वैचारिक र सामाजिक अन्तर्वस्तु खोतल्ने प्रयास देखिन्छ। तर सुवेदीको परिचय राजनीतिक विश्लेषकमा मात्र सीमित छैन। उनको पछाडिको यात्रा नेपाली वामपन्थी आन्दोलन, त्यसको संगठनात्मक विस्तार, वैचारिक बहस र अन्ततः लेखन–अध्ययनसँग जोडिएको लामो यात्रा हो।
विशेषतः गण्डक क्षेत्रलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएर उनले नेपाली वामपन्थी आन्दोलनको विस्तार र संगठन निर्माणमा लामो समय बिताए। विद्यार्थी राजनीतिबाट वाम आन्दोलनमा प्रवेश गरेका सुवेदी २०४६ सालको राजनीतिक परिवर्तनको आसपाससम्म आइपुग्दा लेखकभन्दा बढी एक सक्रिय राजनीतिक नेताका रूपमा चिनिन्थे। त्यो समय उनका लागि राजनीति केवल सत्ताको अभ्यास थिएन, विचार र संगठन निर्माणको माध्यम पनि थियो।
खुला राजनीतिक परिवेशमा प्रवेश गरेपछि दर्शन र राजनीतिक विचारको गहिरो अध्ययनप्रति उनको रुचि अझ विस्तार भयो। पार्टीभित्र आफ्ना वैचारिक मान्यताहरूलाई दृढतापूर्वक राख्ने सुवेदीले वामपन्थी राजनीतिमा विकसित हुँदै गएको विचारहीनता, संगठनात्मक जडता र कर्मकाण्डप्रति असहमति जनाउँदै आए। राजनीतिमा विचारबाहेक सबै कुरा हाबी हुँदै गएपछि उनलाई किनारामा धकेल्ने प्रयास भयो। उनले त्यसको झन्झटमा आफूलाई अल्झाएनन्। बरु मैदान छाडे, तर खेल हेर्न छाडेनन्—आफैंलाई रेफ्रीको भूमिकामा उभ्याए। त्यहीँबाट उनले राजनीतिलाई सहभागी भएर होइन, विचार र विवेकको आँखाले हेर्न र त्यसको हिसाब–किताब गर्न थाले। अन्ततः नियमित संगठनात्मक राजनीतिभन्दा अध्ययन, लेखन र वैचारिक बहस नै उनको मुख्य कर्मक्षेत्र बन्न पुग्यो।
त्यसपछि सुरु भएको उनको लेखन यात्रा नेपाली समाज, राजनीति र इतिहासका विभिन्न तहसम्म फैलियो। भूमि, किसान, राज्य, गोर्खा भर्ती, विद्यार्थी आन्दोलनदेखि वामपन्थी राजनीतिका वैचारिक प्रश्नसम्म उनका अध्ययन र लेखनका विषय बने। उनका कृतिहरू केवल घटनाको विवरण प्रस्तुत गर्ने प्रयास होइनन्; तिनले स्थापित भाष्यलाई प्रश्न गर्ने र नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने प्रयत्न पनि गर्छन्।
उनको चर्चित गैरआख्यान कृति ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली’ यसको एउटा महत्वपूर्ण उदाहरण हो। गोर्खा भर्ती र लाहुरेहरूको इतिहासलाई सामान्यतः वीरता, बहादुरी र इमानको गौरवगाथाका रूपमा प्रस्तुत गरिँदै आएको छ। सुवेदीले भने त्यस कथाभित्र लुकेको सत्ता, असमानता, विभेद र औपनिवेशिक स्वार्थको पक्षलाई समेत उजागर गर्ने प्रयास गरेका छन्। यस अर्थमा यो पुस्तक गोर्खा भर्तीको इतिहास लेख्ने मात्र होइन, त्यसबारे नेपाली समाजमा स्थापित दृष्टिकोणमाथि पुनर्विचार गर्न आग्रह गर्ने कृति पनि हो।
'भूमि, किसान र राज्य’'मा उनले नेपालको कृषि, भूमिसम्बन्ध र राज्यको भूमिकालाई विश्लेषण गरेका छन्। ‘नेपाली विद्यार्थी आन्दोलन : आधा शताब्दी’ले नेपालको विद्यार्थी आन्दोलनको पाँच दशक लामो इतिहासलाई दस्तावेजीकरण गर्ने प्रयास गर्छ। त्यस्तै 'आधा जून’ मार्फत सुवेदीले आख्यानमा समेत आफ्नो उपस्थिति देखाएका छन्।
‘आधा जून’ पञ्चायती व्यवस्थाको उत्कर्षका बेला नेपाली राजनीतिक आन्दोलनमा होमिएका युवायुवतीको संघर्ष, सपना र उत्सर्गमा आधारित राजनीतिक उपन्यास हो। विशेषतः २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसपछिको राजनीतिक संघर्षको पृष्ठभूमिमा लेखिएको यस कृतिले एउटा पुस्ताले लोकतन्त्र र परिवर्तनका लागि गरेको संघर्षलाई कथात्मक रूपमा प्रस्तुत गर्छ।
उपन्यासले राजनीतिक आन्दोलनमा सहभागी युवाहरूको उत्सर्गसँगै तत्कालीन नेपाली समाजको अर्को पाटोलाई पनि उजागर गर्छ—राज्यबाट सर्वसाधारण जनताले भोग्नुपरेको तिरस्कार, अपमान र दमन तथा ग्रामीण समाजभित्र विद्यमान शक्ति सम्बन्ध। राजनीतिक संघर्षको कथा भनिए पनि ‘आधा जून’ केवल आन्दोलनमा होमिएको एउटा पुस्ताको कथा होइन; यो त्यही समयको नेपाली समाज, राज्यसत्ता र त्यसको प्रभावमा बाँचेका मानिसहरूको जीवनको चित्रण पनि हो।
यी कृतिहरूले उनलाई केवल राजनीतिक टिप्पणीकार नभई इतिहास, समाज र राजनीतिलाई अध्ययनको विषय बनाएर लेख्ने लेखक तथा अध्येताका रूपमा स्थापित गर्छन्। राजनीतिक कार्यकर्ताबाट अध्येता, लेखक हुँदै राजनीतिक विश्लेषकसम्म आइपुगेको सुवेदीको यात्रा आफैंमा नेपाली वामपन्थी आन्दोलनको एउटा लामो यात्रासँग जोडिएको छ।
पछिल्लो समय नेपाली वाम आन्दोलनको इतिहास, वर्तमान संकट, वैचारिक विचलन र भविष्यका सम्भावनाबारे सुवेदी निरन्तर लेखिरहेका छन्। बदलिँदो नेपाली समाज र विश्व व्यवस्थाको सन्दर्भमा वामपन्थको भविष्य के हो? पुरानो नेतृत्वको संकटसँगै के वामपन्थी विचार पनि संकटमा परेको हो? वा बदलिएको परिस्थितिले वाम राजनीतिलाई नयाँ ढंगले पुनर्गठित हुने सम्भावना दिएको हो? अध्येता तथा बिश्लेषक सुवेदीसँगको पोडकाष्ट :
.gif)

.png)

